• Sunday 4th of October 2026

यी हुन् सुन तस्करीको सञ्जाल वरपर रहेका माओवादी नेता र कार्यकर्ता !


  • धनकुटा खबर
  • .

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अहिले सुन तस्करीका दुई वटा घटनाको सँगसँगै अनुसन्धान गरिरहेको छ। तीमध्ये पछिल्लो ६० किलो र अर्को ९ किलो सुन तस्करीको घटना। यी दुवै घटनाका प्रकृति मिल्दाजुल्दा छन्। त्यही भएर सिआइबीले एकै पटक अनुसन्धान गरिरहेको हो।

अनुसन्धानका क्रममा दुवै घटनामा कतै न कतैबाट माओवादीका नेता र कार्यकर्ता जोडिएको पाइएको स्रोतहरूले बताएका छन्। यसरी सञ्जाल वरिपरि रहेका ती नेता र कार्यकर्ता को–को हुन त ?

सिआइबीले सुन तस्करी प्रकरणमा बेल्जियन नागरिक दावा छिरिङ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। छिरिङले रोल्पाका माओवादी नेताको सहयोगमा काम गरेको समाचार आइरहेका छन्। उनको माओवादी केन्द्रका नेताहरूसँग सम्पर्क भए/नभएको विषयमा पनि सिआइबीले अनुसन्धान गरिरहेको छ।

सिआइबीले छिरिङको सम्पर्क माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग पनि देखिएको पाएको छ। उनीहरूसँग किन छिरिङले सम्पर्क गरे भन्नेबारे केही खुलेको छैन। यस्तै ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका दाओजिन वाङको सम्पर्क पनि माओवादीका केही नेतासँग देखिएको छ।

छिरिङले ठमेलमा सञ्चालन गर्दै आएको होटल भियनामा माओवादीका उपमहासचिव वर्षमान पुनका भाइ प्रनिससमेत साझेदार छन्। होटलमा छिरिङ, अमला रोका, मञ्जिल श्रेष्ठ, चिनियाँ नागरिक जिलियाङ, चेन काइमु, गुआङपेङग जोङ र प्रनिस पुन साझेदार छन्। प्रहरीले सोधपुछका लागि कृष्णबहादुर महरा, वर्षमान पुन, राहुल महरा, दिपेश पुन, प्रनिस पुन, अमला रोका, बिन्दु मगरलगायत २५ जनाको सूची बनाएको स्रोतले जनाएको छ।

‘माओवादीका धेरै नेतासँग सोधपुछ गर्नुपर्ने देखिएको छ। पक्राउ परेका चिनियाँ नागरिकले उनीहरूको नाम लिइरहेका छन्। तर यसरी नाम लिएकामध्ये कतिलाई सोधपुछ गर्न सकिने हो, कतिलाई गर्नु नपर्ने हो अनुसन्धानकै क्रममा छ,’ सिआइबी स्रोतले भन्यो।

तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङको पनि माओवादीका केही नेता–कार्यकर्तासँग सम्पर्क रहेको स्रोतको दाबी छ। चिनियाँ तस्करहरूले पछिल्लोपटक माओवादीका नेता–कार्यकर्तासँग ह्वाट्स एपमार्फत कुराकानी गरेको पाइएको छ।

सुन तस्करी प्रकरणमा सिआइबीले विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख सहसचिव झलकमान अधिकारीसहित प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका अन्य व्यक्तिसँग पनि सोधपुछ गरेको छ। अधिकारीमाथि पानी तान्ने पम्पमा समेत सुन तस्करी गर्न सहयोग गरेको आरोप छ। दावा छिरिङको सम्पर्क अधिकारीसँग पनि देखिएकाले सिआइबीले उनीसँग सोधपुछ गरेको हो।

सुन तस्करीमा चिनियाँ नागरिक ली हानसोङ, दाओजिन वाङलगायत मुछिएका छन्। नौ किलो र ६० किलो सुन तस्करीमा एउटै समूह रहेको पाइएको स्रोतको दाबी छ।

६० किलो सुन तस्करीमा रामकुमार भुजेल, दिलिप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टियान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचोङ, ली वेन सुङ, गणेश पौडेल, किशोर बस्नेत र सुमन खरेल पक्राउ परेका छन्।-टपेन्द्र कार्की/नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖