काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले एसिया कपमा राम्रो अनुभव बटुल्न पाएको बताएका छन् ।
आज बिहीवार इन्स्पायर नोबल फाउन्डेशनले आयाेजना गरेकाे कार्यक्रममा साेमपालले यस्ताे प्रतिक्रिया दिएका हुन् । उनले पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुशी लागेकाे बताए । पाकिस्तानसँगकाे खेलमा साेचेजस्ताे प्रदर्शन हुन नसकेकाे भन्दै साेमपालले अर्काे पटक खेल्दा राम्राे नतिजा दिने विश्वास व्यक्त गरे ।
यस्तै राष्ट्रिय क्रिकेट टाेलीका ओपनर ब्याटर कुशल भुर्तेलले एसिया कप खेल्नुभन्दा पनि एसिया कपमा क्वालिफायर हुँदा आफूलाई धेरै खुशी लागेको बताए । भारतलाई टीभीमा हेरेर आफूहरूले क्रिकेट सिकेको बताउँदै उनले आफू भारतसँग खेल्न आतुर रहेको बताए । पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्दा सामान्य लागेको उनकाे भनाइ छ ।
पहिलाे पटक एसिया कप क्रिकेट खेलेकाे नेपाल पहिलाे खेलमा पाकिस्तानसँग २ सय ३८ रन र दाेस्राे खेलमा भारतसँग १० विकेटले पराजित भएकाे थियाे । तर हारका बाबजुद पनि नेपालले उत्कृष्ट खेलको भन्दै चौतर्फी प्रशंसा भइरहेको छ ।
