• Monday 5th of October 2026

उनी थिए जनमनका वडाध्यक्ष


  • धनकुटा खबर
  • .

उपेन्द्र लामिछाने काठमाडौँ २२ भाद्र २०८० ४ मिनेट पाठ

आखिर घमण्ड केका लागि सज्जन?

जति कमाए पनि, जति धन भए पनि, जति सम्पत्ति भए पनि

खाने भातै हो, सुत्ने खाटै हो, काट्ने रातै हो अनि जाने घाटै हो

केही दिनअगाडि मुकुन्द रिजालले आफ्नो ‘टिकटक’मा यही अभिव्यक्ति समेटेर राखेको भिडियो हेर्दा निकै खुसी लागेको थियो। काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष रहेका रिजालको पार्थिव शरीर बिहीबार आर्यघाटमा देख्दा मन निकै कुँडियो। डेंगु सङ्क्रमण देखिएपछि ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना भएका रिजालको भाइरल निमोनियाका कारण बिहीबार बिहान ७ः३० बजे निधन भएको सोही अस्पतालका निर्देशक डा. विनोद बिजुक्छेले जानकारी दिए।

नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित रिजाल कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापतिसमेत हुन्। रिजालले घरदैलोमै पुगेर जनतालाई सेवा दिने गरेकाले वडावासीमाझ लोकप्रिय थिए। ‘उहाँ समस्या सुनेर त्यसको समाधानका लागि तत्कालै पहल गर्नुहुन्थ्यो, सधै जनतामाझ देखिनुहुन्थ्यो,’ सभागृहमा रिजाललाई अन्तिम श्रद्धाञ्जली दिन आएका प्रताप कार्कीले भने, ‘अब हाम्रो टोलमा उहाँका काम मात्र देखिनेछन्।’

रिजाल जनताको सुखदुःखमा सँगसँगै हुने गरेकाले २०७४ र २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीका अन्य उम्मेदवार पराजित हुँदा पनि उनी निर्वाचित भए। टोलवासी समस्यामा पर्दा टोलमै पुग्ने र बिरामी हुँदा रिजाल अस्पतालमै भेटिने जनप्रतिनिधि भएको कांग्रेस नेता सविन तामाङले बताए। पार्टीमा सम्भावना बोकेको नेता भएको स्मरण गर्दै उनले भने, ‘आफ्नो वडाको मात्र होइन, काठमाडौं–७ को विकास निर्माणमा रिजालको महत्वपूर्ण योगदान रहेको छ।’

चुनावलगत्तै काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठकमा काठमाडौं महानगरपालिकाका अनुभवी जनप्रतिनिधि रिजालले महानगरपालिकाको पहिलो बैठक सञ्चालन प्रक्रिया नमिलेको भन्दै मेयर बालेन साहको गल्ती औंल्याए। त्यतिबेला उनको चर्को आलोचनासँगै निडर बोलीको पनि प्रशंसा भएको थियो। त्यसपछि थप चर्चामा आएका रिजालले साहलाई आफ्नै निवासमा खानाका लागि आमन्त्रण गरे।

पछिल्लो समय उनी महानगरको समग्र समस्याको समाधानका लागि मेयर बालेनसँग सहकार्यमा जुटेका थिए। ‘राम्रा कामको समर्थन गर्ने र कार्यान्वयनका लागि अग्रसरता लिने मात्र होइन गलत प्रस्तावको खुलेर प्रतिवाद पनि गर्नुहुन्थ्यो,’ काठमाडौं–२६ का वडाध्यक्ष ख्याम तिवारीले भने, ‘काठमाडौं महानगरले एउटा असल नेता गुमाएको छ।’ स्थानीय अवरोधका कारण बन्चरे डाँडामा फोहोर व्यवस्थापन हुन नसक्दा महानगरवासीले दुर्गन्ध झेल्नुपरेका बेला उनै वडाध्यक्ष रिजालले आफ्नो वडाको फोहोर तत्कालका लागि आफ्नै वडाभित्र व्यवस्थापन गरेका थिए। त्यसले पनि जनताको मन थप जित्न सफल भएका रिजालले अघिल्लो कार्यकालमा २०७२ सालको भूकम्पबाट भत्किएका संरचनाहरू पुनर्निर्माण गर्नेमा महत्वपूर्ण योगदान गरेको स्थानीयको बुझाइ छ।

वडाभित्रका विद्यालय, पाटीपौवासहितका धार्मिक तथा सांस्कृतिक संरचनाहरू निर्माणमा योगादन गरेको भन्दै स्थानीय श्याम महर्जनले भने, ‘हाम्रो वडाको धरोहर ढल्यो, काठमाडौंको एउटा भविष्य पनि।’ बिहीबार बिहान निधन भएका रिजालप्रति महानगरका मेयर–उपमेयर, वडाअध्यक्षहरू, विभिन्न राजनीतिक दलका नेता, सरकारका प्रतिनिधि तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन्। राष्ट्रिय सभागृहमा राखिएको उनको पार्थिव शरीरमा मेयर बालेन शाहले काठमाडौं महानगरको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।

त्यसैगरी नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवं वडाध्यक्ष रिजालको निधनप्रति दुःख व्यक्त गर्दै पार्टी सभापति शेरबहादुर देउवाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। शोक विज्ञप्ति नै जारी गरेर पार्टीले कुशल संगठक गुमाएको जनाउँदै उनले स्वर्गीय रिजालले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरे। देउवाले दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्ना तर्फबाट समवेदना प्रकट गरेका छन्।

२०२७ कात्तिकमा जन्मेका रिजालले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। २०४६ सालको ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा परेका थिए। सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आबद्ध भई राजनीतिक यात्रा सुरु गरेका रिजालले मानवअधिकारवादी संघसंस्थामा समेत आबद्ध भएर काम गरेका थिए। रिजाल कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय सभापति र कामनपा–१६ मा दुईपटक वडाध्यक्षमा निर्वाचित भए।

सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आबद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका उनले मानवअधिकारवादी संघसंस्थामा समेत आबद्ध भएर कार्य गर्दै आएका थिए। वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन्। उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्तिम संस्कारको समयमा कांग्रेस केन्द्रीयस्तरका नेता, कार्यकर्ता तथा सर्वसाधरणको बाक्लो भिड थियो।

यसैबिच काठमाडौं महानगरले शुक्रबारका लागि शोक बिदा दिएको छ। वडाध्यक्ष रिजालको निधनमा महानगरले महानगरभरि शोक बिदा दिने निर्णय गरेको प्रशासन विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिए।उपेन्द्र लामिछानेले नागरिक न्यूजमा लेखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖