नेकपा (एकीकृत समाजवादी)ले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान शुरू गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिबारे जनतालाई जानकारी गराउने उद्देश्यले मेची–महाकाली राष्ट्रिय अभियान शुरू गर्न लागिएको हो ।
अभियान असोज १४ मेचीबाट शुरू भई असोज २९ गते महाकालीमा पुगेर सम्पन्न हुने छ । अभियानका क्रममा समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए ।
उनका अनुसार अभियानका क्रममा जनताबाट प्राप्त सुझावलाई समेटेर पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना निर्माण गरिने छ ।
अभियानमा राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन नेकपा (एमाले)सँग विद्रोह गर्नुको औचित्य पुष्टि भएको विषय, जनजीविका, सामाजिक रुपान्तरणका लागि पार्टीले गरेका गतिविधि अभियानका क्रममा जनतालाई बुझाइने जानकारी उनले बताए ।
