• Sunday 4th of October 2026

भारतलाई हराउनु पर्छ भन्ने सोचेर मैदान उत्रिएको थिएँ: कुशल भुर्तेल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल टोलीका ओपनर कुशल भुर्तेलले आफु भारतलाई हराउनै पर्छ भन्ने मानसिकताका साथ मैदान उत्रिएको बताएका छन् ।

एसिसी एसिया कप खेलेर फर्किएपछि कुशलले खेलाडी डट कमसँगको कुराकानीका क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘मलाई सानैदेखि भारत मन पर्दैन थियो । कुनै दिन भारतसँग खेल्न पाए भारतलाई हराउनु पर्छ भन्ने सोच आउँथ्यो । भारतलाई हराउन सके अर्को चरणमा जाने सम्भावना पनि थियो,’ कुशलले भने,‘ त्यसैले म चाँही जसरी पनि जित निकाल्नै पर्छ भन्ने सोचले मैदान उत्रिएको थिएँ । ’

कुशलले भारतविरुद्ध ३८ रन बनाएका थिए । उनले पहिलो विकेटका लागि आसिफ शेखसँग ६५ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

प्रतियोगितामा विश्व क्रिकेटका दुई महारथी पाकिस्तान र भारतको सामना गरेको नेपाल दुवै खेलमा पराजय ब्यहोर्दै समूह चरणबाटै बाहिरियो । नेपाल पहिलो खेलमा पाकिस्तासँग २ सय ३८ र दोस्रो खेलमा भारतसँग डकवर्थ लुइस पद्धतिको आधारमा १० विकेटले पराजित भएको थियो ।

कुशल पाकिस्तानी तीब्र गतिका बलर शाहिन शाह अफ्रिदीको सामना गर्नु आफ्नो जीवनको उत्कृष्ट क्षणमध्ये एक मान्छन् ।

‘एसिया कप सुरु हुनभन्दा दुई तीन महिना अगाडि हामी छनोट भएका थियौं । त्यती बेलादेखि नै म खुसी थिएँ । शाहिन शाह अफ्रिदीले पहिलो बल फाल्छ भन्ने थाहा थियो । ब्याटिङ गर्न जाँदा उही अगाडी थियो । मलाई लाग्छ यो मेरो जीवनकै उत्कृष्ट क्षण हो,’ कुशलले मुस्कुराउँदै भने,‘ कसरी बल फेस गर्ने थाहा थिएन । अफ्रिदीले विश्वका उत्कृष्ट ब्यटारलाई आउट गरिसकेका छन् । उनलाई टिभीमा देखिएरहेको थिए । बल फेस गर्न निकै उत्साहित थिए ।पहिलो बलपछि केही सहज भयो ।’

कुशलले अफ्रिदीको पहिलो दुई बलमा चौका प्रहार गरेका थिए । तर कुशल ओभरको पाँचौं बलमा विकेटविपर मोहम्मद रिजवानबाट क्याच हुन पुगे ।

कुशल पाकिस्तानविरुद्ध राम्रो प्रर्दशन गर्न नसक्दा नै भारसँग राम्रो प्रदर्शन गर्न प्रेरणा मिलेको बताउँछन् ।

‘पाकिस्तानविरुद्ध हामीले राम्रो गर्न सकेनौं त्यसैले भारतसँग राम्रो खेल्नु पर्छ भन्ने थियो, कुशलले थपे,‘पाकिस्तानसँगको खेलेका करण भारतीय बलरलाई फेस गर्न केही सहज भयो ।’

नेपाली पुरुष क्रिकेटले आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ३ सम्म चीनमा हुने १९ औं एसियाली खेलकुदमा सहभागिता जनाउँदैछ । यसैगरी नेपालले अक्टोबर ३० देखि नोभेम्बर ९ सम्म आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप एसिया छनोट प्रतियोगिता आयोजना गर्दैछ ।

कुशल टोलीको मुख्य लक्ष्य विश्वकपमा छनोट हुने रहेको बताउँछन् । ‘एसिया कपका राम्रो प्रदर्शन भयो । यहाँबाट धेरै कुरा सिक्ने अवसर मिल्यो अब हामी एसियाली खेलकुद र आइसिसी ट्वान्टी-२० विश्वकप छनोटको तयारीमा लाग्ने छौं । हाम्रो प्रखुख लक्ष्य विश्वकपमा छनोट हुनु हो,’ कुशलले भने ।

नेपाली घरेलु संरचना राम्रो हुने नसेकेकोमा भने कुशलको दुखेसो छ । ‘मलाई हाम्रो घरेलु संरचना राम्रो नभएकोमा दुःख लाग्छ । राष्ट्रिय टोली व्यस्त रहँदा कुनै पनि घरेलु प्रतियोगिता नै हुँदैनन्,’ कुशलले आफ्नो दुखेसो पोखे,‘ नियमित रूपमा घरेलु प्रतियोगिता भइरह्यो भने राम्रा खेलाडी उत्पादन हुन्थे ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖