विराटनगर । जात्रामा भएको विवादपछि कोशी प्रदेशका सांसद खगेनसिंह हांगामको घरमा पुगेर प्रहरी टोलीले हुलहुज्जत गरेको छ ।
हांगामले ताप्लेजुङ घर गएका बेला राती १० बजे प्रहरी टोलीले पेस्तोल तेर्स्याएर ‘कक’ गरेको दाबी गरेका छन् । उनी ताप्लेजुङ १ (२) बाट नेपाली कांग्रेसबाट विजयी सांसद हुन् । नेपाली कांग्रेसका कार्यकर्तालाई रक्सी खाएका प्रहरीले कुटपिट गरेपछि दिउँसोदेखि नै प्रहरी र कांग्रेस कार्यकर्ताकोबीच भनाभन भएको उनले बताएका छन् ।
‘दिउँसो एक बहिनीलाई मापसे सेवन गरेर दुःख दिएको देखेपछि कांग्रेसका कार्यकर्ताहरू मिलेर त्यसो नगर्न भनेका थिए । यही विषयलाई लिएर प्रहरीले घरमै आएर मलाई आक्रमणको प्रयास भयो ।
काठमाडौंबाट आएका क्षेत्रीय उपसभापति पेमा लामालाई पनि कुटे । राति घरमा रहेको बेला डीएसपी राजन लिम्बूले टोली पठाएर मलाई मार्ने प्रयास गरे’, उनको आरोप छ ।
हांगामले थपे, ‘प्रहरीले नै सादा पोसाकका गुन्डा लगाएर मलाई मार्ने प्रयास भयो, उनले भने, ममाथि पेस्तोल तेर्स्याएर कक गरेका थिए ।’
सादा पोसाकमा ठूलो संख्यामा प्रहरी पठाएर घरमा घेरा हालेको उनको भनाइ छ ।
प्रदेश सभा सदस्य हांगामका अनुसार राति प्रहरीले लौरोसमेत उनको घरमा छाडेका छन् ।
प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले सांसद हांगाम र प्रहरीबीच सामान्य विवाद भएको बताए ।
‘प्रहरीले ९ बजेपछि जात्रा बन्द गर्न भनेको थियो । माननीयसहितको टोली बाटोमा बसेकाले सामान्य विवाद भएको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको छ’, बास्तोलाले भने ।-नेपाल प्रेस
