• Monday 5th of October 2026

प्रहरीले प्रदेश सांसदलाई दुर्व्यवहार गरेको भन्दै ताप्लेजुङमा कांग्रेस कार्यकर्ताको प्रदर्शन


  • धनकुटा खबर
  • .

कोशी प्रदेश सभा सदस्य खगेन सिंङ हाङगामलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले ताप्लेजुङको फुङलिङ बजारमा प्रदर्शन गरेका छन्।

शुक्रबार बेलुकी करिब ११:१५ बजे डेरामै आएर प्रहरीले आफूलाई दुर्व्यवहार गरेको प्रदेश सभा सदस्य हाङगामले सेतोपाटीलाई बताए।
प्रहरी निरीक्षक सुजन मुदेल नेतृत्वमा आएको प्रहरी टोलीले लाठी प्रहारसहित ढुंगामुढा गरेको, २ जना हवल्दारले ज्यान लिने धम्की दिएको र बर्दीबिना आएकाअसई सागर रोका क्षेत्रीले पोस्तोल लोड गरी ताकेको उनको आरोप छ।

‘यस्तो घटनाले सिंगो ताप्लेजुङ नै अशान्ति र मुडभेडतर्फ धकेलिएको महशुस भएको छ,’ उनले भने, ‘यस विषयमा प्रहरी प्रशासनले उचित निकास निकाल्नुपर्छ, गल्ती गर्ने प्रहरीलाई कारबाही गर्नुपर्छ। होइन भने हामी चरणबद्ध आन्दोलन गर्छौं।’

ललितपुर घर भएका कांग्रेस कार्यकर्ता पेमा लामामाथि प्रहरीले कुटपिट गरेको भन्दै प्रदेश सभा सदस्यले घटनाबारे प्रहरी प्रशासनसँग चासो राखेका थिए।

‘ललितपुरबाट आएका हाम्रा पाहुनालाई प्रहरीले कुटपिट गरेछ। यो कुरा मलाई थाहा भएपछि मैले प्रहरी प्रशासनसँग बुझ्ने काम गरेको थिएँ,’ उनले भने, ‘त्यसपछि शुक्रबार बेलुकी मेरो डेरामै आएर प्रहरीहरूले अपशब्द बोले, ममाथि दुर्व्यवहार गरे, लाठी हाने।’

प्रदेश सभा सदस्यलाई दुर्व्यवहार गरेको भन्दै कांग्रेस कार्यकर्ताहरूले बिहानैदेखि ताप्लेजुङ सदरमुकाममा प्रदर्शन गरिरहेका छन्।
‘केहीबेर यातायात बन्द भएको थियो तर जनतालाई असुविधा हुने भएकोले अहिले यातायात खुलिसकेको छ,’ उनले भने।

ताप्लेजुङकी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले समस्या समाधान गर्न छलफल सुरू गरिएको जानकारी दिइन्। ‘प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र मेयरलगायत सँग छलफल गर्दैछौं,’ उनले भनिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖