• Sunday 4th of October 2026

विश्वकप छनोटबाट बाहिरिएपछि क्रिकेट कप्तान रुबिना : अर्को पटक बलियो भएर आउँछौं


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा थाइल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै ग्लोबल क्वालिफायर्समा पुग्न नसकेपछि अर्को पटक यही सिकलाई आत्मसात गर्दै बलियो भएर फर्किने बताएकी छिन् ।

‘हामीले धेरै सकरात्मक पक्षहरु लिएर जाँदैछौं । हामीले यहाँ सिकेका सिकाइहरु लिएर जानेछौं,’ खेलपछि कमेन्टेटरसँग कुरा गर्दै उनले भनिन्, ‘त्यहि कुराहरुलाई आत्मसात गर्दै अर्को पटक बलियो भएर आउनेछौं ।’

रुबिनाले नेपाली टिमले राम्रो प्रतिस्पर्धा गरे पनि लक्ष्य पूरा गर्न नसक्दा नराम्रो लागेको बताइन् । ‘हार्‍यौं नराम्रो भयो तर हामी सिक्ने तहमा नै छौं । हामीले राम्रो प्रतिस्पर्धा दियौं,’ उनले भनिन्, ‘तर हामीले सोचेको जसरी प्रतियोगिताको अन्त्य गरेनौं । जसरी हामीले केटीहरुले खेले त्यसको आधारमा म उनीहरुप्रति गर्व गर्छु ।’

सेमिफाइनलमा थाइल्याण्डसँगको खेल जित्न नेपालले १०६ रनको लक्ष्य पाएको थियो । तर नेपाल १९।३ ओभरमा सबै विकेट गुमाएर ५९ रनमै अलआउट भयो ।

‘आज हाम्रो लागि ठूलो दिन थियो । १०६ रन यो पिचमा धेरै ठूलो लक्ष्य होइन,’ उनले भनिन्, ‘सायद हामीमा अझै पनि खेलको अनुभवको कमीका कारण यस्तो भएको हो ।’

पहिलो इनिङ्समा योजनाअनुसार खेलेको भए पनि दोस्रो इनिङ्समा कमजोरी गर्दा खेल हारेको उनको समीक्षा छ ।

नेपालले यसअघि चारदेशीय सिरिज जितेको छ । नेपाली महिला क्रिकेट टिमले यहि वर्ष दुई वटा सिरिज जिते पनि मुख्य लक्ष्यमा भने चुक्यो । ‘हामीले यसअघि सिरिज त जित्यौं । तर हाम्रो लक्ष्य विश्वकपको लागि क्वालिफाई गर्नु थियो, हामीले मुख्य लक्ष्यमासोचेजस्तो गर्न सकेनौं’, रुबिनाले भनिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖