• Monday 5th of October 2026

माओवादीको अभियान : धान गोडमेल गर्नेदेखि बाटो सफा गर्नेसम्म


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा माओवादी केन्द्र अहिले तीन महिने अभियानमा छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ मूल नाराका साथ भदौ १६ गतेदेखि सुरु भएको अभियानमा माओवादी केन्द्रका नेताहरू खटेका छन् ।

अभियानमा माओवादी नेता–कार्यकर्ताहरूले सरसफाइ गर्नुको साथै किसानसँग खेतमा काम गर्ने, रक्तदान, स्कुलमा गएर पढाउने, सिँचाइका लागि नदीमा बाँध बाँध्नेसम्मको कार्य गरिरहेका छन् । वडा तहबाट सुरु गरिएको सो अभियानमा माओवादीहरू जनताको घरघरमा पुग्ने प्रयास गरिरहेका छन् । त्यही भएर जनताले गर्ने हरेक काममा सहयोग गर्ने काम माओवादी नेता–कार्यकर्ताहरूले गरिरहेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य उमेश यादव (सप्तरी) अहिले उनी सिरहाको वरियारपट्टी गाउँपालिकामा खटिएका छन् । उनले भने, ‘अहिले माओवादीले जे अभियान सुरु गरेको छ, त्यो धेरै पहिला नै गर्नुपर्ने थियो । जनताको मनमा अहिले पनि माओवादी नै छ । तर बिस्तारै माओवादी टाढिएपछि जनताले पनि बिर्सन थालेका थिए । अहिले सबै खुसी भएका छन् ।’

जनयुद्धकालमा यसैगरी माओवादीहरू जनताको घरदैलोमा पुग्ने, उनीहरूको काम गर्थे, त्यही घरमा खान्थे, त्यही भएर जनताले माओवादीलाई आफ्नो ठान्थे । तर अहिले माओवादीहरू सहरमुखी भएको गुनासो जनताको रहेको उनले बताए ।

सुखीपर नगरपालिका–३ मा सहिद परिवारको खेतमा आज माओवादीका नेता तथा कार्यकर्ताले धान गोडमेलका छन् । ८५ जना माओवादीले १० कट्ठा खेतको धानलाई गोडमेल गरेका हुन् । त्यही औरही गाउँपालिकाका माओवादीले नहरको पानी किसानको खेतसम्म पुर्‍याउनका लागि नदीमा बाँध बाँध्नुको साथै नहरलाई सफाइ गर्ने काम गरेका छन् ।

माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालले ललितपुर महानगरपालिका वडा नम्बर २२ मा बुङमती सरसफाइ कार्यक्रम गरेकी छन् । माओवादी केन्द्रका नेता तथा कार्यकर्तासहित गरेको सफाइ कार्यक्रममा त्यहाँका स्थानीय पनि सहभागी थिए ।

सरसफाइ कार्यक्रम गरिरहँदा कतिपय स्थानीयले त्यसको प्रशंसा गरेका थिए भने कतिपयले यो अभियानसम्मका लागि मात्र भएको र तीन महिने अभियान सकेपछि माओवादी कहाँ हराउँछन् थाहा हुँदैन भन्दै टिप्पणी गरेको पनि सुनिएको थियो ।

अभियानकै क्रममा गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी पुनर्निर्माणको अभियानमा लागेको बताउँदै ठुलो त्याग र तपस्याबाट प्राप्त यो उपलब्धिलाई रक्षा गर्नका लागि यो अभियान सफल बनाउन जरुरी रहेको बताए । जनताको काम गर्ने एक मात्र पार्टी माओवादी हो भन्ने कुराको बोध गराउन नेता तथा कार्यकर्तालाई उनले निर्देशन पनि दिए ।

पोखरा महानगरपालिकामा खटिएका सचिव देवेन्द्र पौडेल (बाग्लुङ)ले माओवादीप्रति जनताको आकर्षण बढेको दाबी थरे । उनले भने, अभियान सुरु गरेको चार पाँच दिन मात्र भएको छ, तर सकारात्मक प्रतिक्रियाहरू आउन थालेका छन्, जनताको विकास निर्माण, खेतीपातीमा सघाउने गरी सुरु गरिएको अभियानप्रति जनता उत्साहित छन् ।’ जनतालाई आइपर्ने हरेक कामका लागि माओवादी तयार रहनुपर्ने सन्देश गएको छ र यस्तो कामहरू अभियानमा मात्र होइन, नियमित गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

सिरहा औरहीका विद्यार्थी नेता भोला यादवले जनताप्रति विश्वास गुमाइसकेको माओवादी पुनर्संगठित भइरहेको सन्देश दिएको बताए । माओवादीहरू अहिले जनताको जनजीविकासँग सिधै जोडिएका छन् जसले गर्दा विश्वास जागेको बताउँदै उनले यस्तो कामलाई अभियानसम्मलाई मात्र सीमित राख्यो भने माओवादी फेरि कहिल्यै उठ्न नसक्ने बताए ।
-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖