काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तिजका गीत पनि अब जागरणका गीत बन्नु पर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै ओलीले आफ्नो देश बनेको छैन भनेर अर्काको देशमा दौडिएर नहुने बताउनुभयो ।
जति गरे पनि परदेश आफ्नो देश जस्तो नहुने उहाँको भनाई छ । ‘अरूका देश बनेका छन् भनेर, बनेका देशमा हामी कुदेर, आफ्नो देश बनेको छैन भनेर बनाउन छाडेर कुदेर हुँदैन’, उहाँले भन्नुभयो ।
उहाँले अर्काको खेतमा रोपाइँ गरेर धान अर्कैले काट्ने बताउनुभयो । अर्काको देशमा बनाएका राम्रा घर, राम्रा बाटा, राम्रा गाडी अर्काले नै प्रयोग गर्ने कुरा बिर्सन नहुने उहाँले प्रष्ट पार्नुभयो ।
सबैभन्दा उर्वर खेत नेपालका भए पनि अहिले अन्न भने बाहिरबाट ल्याउने पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । अब नेपालमा नै सुख र समृद्धि खोज्नु पर्ने ओलीले बताउनुभयो ।
नेपाली चाडहरू एकता र सुधारका लागि बनेका उहाँले बताउनुभयो । जहिले पनि सुधारका आवाज सहितको मार्गदर्शन निर्धारण गर्नुपर्नेमा ओलीले जोड दिनुभयो ।
