• Monday 5th of October 2026

प्रधानमन्त्री प्रचण्ड – माधवजीको ठाउँमा ओली महासचिव भएको भए संघीय गणतन्त्र आउने थिएन


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली एमालेको तत्कालीन महासचिव भएको भए जनयुद्ध, जनआन्दोलन नहुने जिकिर गरेका छन् ।

आइतबार समाजवादी मोर्चाले हेटौंडामा गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन अवस्थामा माधवको ठाउँमा ओली महासचिव भएको भए व्यवस्था परिवर्तन नहुने जिकिर गरेका हुन् ।

‘म अहिले स्मरण गर्न चाहन्छु । तत्कालीन अवस्थामा एमालेको महासचिव केपी ओली भएको भए जनआन्दोलन र गणतन्त्र स्थापना हुने थिएन’, ओलीको विचारशैलीप्रति असन्तुष्ट व्यक्त गर्दै उनले भने, ‘त्यतिबेला माओवादीले संघीयता, गणतन्त्र ल्याउन सशस्त्र युद्ध गर्‍यो । कांग्रेसबाट गिरिजाप्रसादले जनआन्दोलनको नेतृत्व गर्नुभयो । माधवजीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहयोग गर्नुभयो ।’

ओलीले प्राप्त उपलब्धिलाई अपमानित गर्न खोजेको आरोप लगाउँदै उनले प्रतिक्रान्तिकारीबाट जोगाउन समाजवादी शक्तिहरू एकजुट हुनुको विकल्प नभएको बताए ।

‘अहिले गणतन्त्र जनताको हुने कि प्रतिक्रियावादी फाँसिस्टहरूको हुने भन्ने विषयमा लडाइँ भइरहेको छ । प्राप्त उपलब्धिलाई जोगाउँदै समाजवादी गणतन्त्र स्थापित गर्न समाजवादी दलहरू एकजुट हुनुको विकल्प छैन’, उनले भने । उनले कम्युनिस्टहरू विभाजन गर्नेमा मात्र नभई एकजुट हुनेमा पनि सिपालु रहेको जिकिर गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖