• Monday 5th of October 2026

श्रमदानबाटै कागबेनी–तिरी जोड्ने पुल निर्माण


  • धनकुटा खबर
  • .

गलेश्वर । गत साउन २८ गते आएको बाढीले बगाएको मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागखोलाको पुल मुस्ताङीले श्रमदान गरेर निर्माण गरेका छन् । पुल निर्माण भएपछि तिरी गाउँ पुग्न घुमाउरो बाटो प्रयोग गरेर चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

तिरी गाउँ कागबेनीबाट पारीपट्टी रहेको तर सवारीसाधनको पहुँच विस्तार नभएको गाउँ हो । उक्त गाउँलाई मुस्ताङको सदरमुकाम जोमसोमलगायत अन्य ठाउँसँग तिरी गाउँलाई जोड्ने एकमात्र माध्यम कागखोलाको पुल थियो । उक्त पुल बाढीले बगाएपछि तिरी गाउँ सम्पर्कविहीनको अवस्थामा थियो ।

कागबेनीबाट तिरी गाउँलाई जोड्ने पुल नै बगेपछि तिरी गाउँ र कागबेनी आवतजावत गर्न करिब चार घण्टा पैदल यात्रा गरेर जानुपर्ने बाध्यता रहेकामा मुस्ताङीले सोही ठाउँमा जनश्रमदान गरेरै पुल निर्माण गरी चार घण्टाको बाटोलाई छोट्याएको गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले बताए ।

उनका अनुसार तिरी गाउँमा सिधै जान कागखोला तर्न सकिँदैन । घुमेर जाँदा पाङलिङ, फल्याकलगायतका गाउँ हुँदै निकै घुमेर जानुपर्ने अवस्था थियो । त्यो घुमाउरो बाटो पैदल यात्राका लागिसमेत अप्ठ्यारो भएकाले यात्रीले करिब एक महिनादेखि निकै सास्ती भोग्दै आएका थिए ।

जनश्रमदान, छिमेकीसँगको सहसम्बन्ध, अर्मपर्म र सहयोगलाई पुख्र्यौंली संस्कृतिका रूपमा मान्दै आएका मुस्ताङीले यसपटकको विपत्तिमा पनि उदाहरणीय काम गरेको मुस्ताङमा सामान ढुवानीको व्यवसाय गर्दै आउनुभएका कृष्ण शर्माले बताए ।

उनका अनुसार मुख्यतः तिरी, कागबेनी र पाङलिङ गाउँबाट आएका नागरिकले दैनिकरूपमा जनश्रमदान गरेर कागखोलामाथि पुल निर्माण गरेका थिए । पैदलयात्रा र दुईपाङ्ग्रे सवारीसाधन सहजै तर्नसक्ने अस्थायी काठे पुलबाट अप्ठ्यारो परेका बेलामा ट्याक्सी पनि पार हुनसक्ने गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए ।

पुल नभएका कारण अत्यावश्यक सामग्रीसहित दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या हुँदै आएको थियो । स्वास्थ्य सामग्रीको आपूर्ति गर्नसमेत समस्या भएको थियो । उपचारका लागि तल झर्नुपर्ने वा उपचार गरेर गाउँ फर्किनेलाई पनि समस्या भएको थियो ।

उक्त ठाउँमा यसै वर्ष गाडी तर्नसक्ने पुल निर्माण गर्ने योजना राखेर वडामा बजेट राखिएको अध्यक्ष गुरुङले जानकारी दिए। अब त्यो बजेटको शीर्षक परिवर्तन गरेर कागबेनीका बाढीपीडितको पुनःस्थापनका लागि खर्च गर्नुपर्ने अवस्था आएको पनि उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖