• Monday 5th of October 2026

ओलीले गरे यति, ओम्नी र मीनबहादुरको बचाउ


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यति होल्डिङ्स, ओम्नी ग्रुप र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङको बचाउ गरेका छन्।
आइतबार पार्टी कार्यालय च्यासल ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यी कम्पनीहरूलाई खेद्नेहरू दलाल पुँजीवादी भएको बताए।

‘यति होल्डिङ्सलाई उनीहरू खेद्छन् किनभने त्यो राष्ट्रिय पुँजी हो। सोलुको एउटा शेर्पा भारी बोकेर हिँड्थ्यो रे बच्चैदेखि। त्यस्तो शेर्पाले आएर यहाँ हवाइजहाज पनि उडाएको छ। पर्यटन पनि चलाएको छ,’ ओलीले भने,‘ होटल पनि चलाएको छ। के पनि गरेको छ हेलिकप्टर पनि चलाएको छ। यसो गर्न पनि पाइन्छ। भारी बोकेर हिँड्नु पर्नेले यस्तो गर्ने भनेर उनीहरू खेद्छन्।’ माओवादीहरूले यतिमात्र होइन ओम्नी समूह र भाटभटेनीका सञ्चालकलाई पनि खेदेको ओलीको भनाइ छ।

‘माओवादीहरू गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी भन्छन्। यति यति भन्छन्, भाटभटेनी भाटभटेनी भन्छन्। मीनबहादुर मीनबहादुर। गुरूङको छोरो भारी बोकेर आएको गर्न खान दिनु हुँदैन भन्छन्,’ ओलीले भने,‘उनीहरूले राष्ट्रिय पुँजीपतिहरूलाई छानी छानी लखेटेका छन्। विरूद्धमा कोही बोल्दा सांसद समातिन्छ, एउटा सचिव अधिकृत हुँदा हस्ताक्षर गरेका कारण विमानस्थलबाट समातिन्छ। यो दलाल पुँजीवादीहरुको तमासा हो।’

ओली प्रधानमन्त्री हुँदा यति होल्डिङ्स र ओम्नी समूहले सरकारबाट लाभ लिएको र कोरोनाविरूद्धको सामग्री ल्याउँदा अनियमितता गरेको आरोप छ।
भाटभटेनीका सञ्चालक गुरूङ ललिता निवास प्रकरणमा प्रकाउ परेका थिए भने उनलाई आजै जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖