• Monday 5th of October 2026

माओवादीहरु गायत्री मन्त्र जप्दैनन्, ओम्नी, यति र भाटभटेनी मात्रै भन्छन् : केपी ओली


  • धनकुटा खबर
  • .

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले राष्ट्रिय उद्याेगपतिलाई छानीछानी दु:ख दिएकाे बताउनुभएकाे छ ।

पार्टीको सहकारी तथा गरिबी निवारण विभागले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले सरकारले राष्ट्रिय उद्याेगपतिलाई छानीछानी लखेटेकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे – ‘त्यो मीनबहादुर गुरुङलाई किन समातेकाे ? किन कारबाही गरेकाे ? ५-६ जनाले किनेको जमिन, उसले त धनीपुर्जा हेर्‍यो, भएका मान्छेसँग किन्यो त ? अनि सरकारी जमिनलाई आफ्नो बनाउने, बनाउन लाग्ने-लगाउने, भ्रष्टाचार गर्ने त तिनीहरु हुन् नि, ती ठूला कुरा गर्ने तर, सरकारी अड्डामा गएर पास गरेर जग्गा किनेका मान्छेलाई कारबाही गर्ने ? के मीनबहादुर गुरुङ भागेर हिँड्थ्याे ? सबै तिमीहरु बाँडेर खाउँ भनेर सम्पत्ति छाडेर भागेर हिँड्यो ?’

गरिब गुरुङले प्रगति गरेर देशमा याेगदान दिएकाे गठबन्धन सरकारले नदेखेकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘होइन त्यो मनाङ, मुस्ताङ कतातिर भारी बोकेर हिँड्ने, खाली खुट्टा हिँड्ने गुरुङ, यत्रो भाटभटेनी चलाएर पुँजीपति भएकाे याे सरकारकाे आँखाले देख्न सकेन, याे राष्ट्रिय पुँजीपतीलाई खेद्‍ने कुरा हाे ।’
यति हाेल्डिङ्लाई खेद्‍नेहरु दलाल पुँजीवादीहरु भएका समेत अध्यक्ष ओलीले बताउनुभयाे । यति राष्ट्रिय पुँजी भएकाले दलाल पुँजीवादीहरुले खेदेका बताउनुभयाे ।

अध्यक्ष ओलीले भन्नुभयाे – ‘सोलुको एउटा शेर्पा भारी बोकेर हिँड्थ्यो रे बच्चैदेखि, त्यस्तो शेर्पाले यहाँ आएर हवाईजहाज पनि उडाएको छ, हेलिकाेप्टर चलाएकाे छ, पर्यटन, होटल पनि चलाएको छ, गर्न पाइन्छ ? भारी बोकेर हिँड्ने शेर्पाले ? यो त राष्ट्रिय पुँजीबाहेक हुनै सक्दैन, स्वीजरल्याण्डमा लगेर उसले जम्मा गर्दैन, उसले माल्दिभ्स, श्रीलंका, बंगलादेश लाँदैन, भारतमा पैसा लाँदैन, मुम्बईमा, श्रीलंकामा होटल छैन, देशमै केही गर्छु भन्ने यस्तालाई पनि चलाउन दिन्छ त ?’
राष्ट्रिय पुँजीपतिलाई खेद्‍ने काम भएकाे भन्दै उहाँले माओवादीहरुले गायत्री मन्त्र नजप्ने बरु यति ओम्नी भन्ने भन्दै कटाक्ष गर्नुभयाे ।

अध्यक्ष ओलीले भन्नुभयाे – ‘माओवादीहरु गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी, यति यति, भाटभटेनी भाटभटेनी, मीनबहादुर मीनबहादुर, गुरुङको छोरो भारी बोकेर आएको कसरी गरी गरिखायो ? गर्न खान दिनु हुँदैन मात्रै भन्छन्, राष्ट्रिय पुँजीपतिहरुलाई छानीछानी लखेटेकाे छ ।’
सरकारकाे गलत काम विरुद्ध बाेल्दा सरकारले सांसद्लाई पनि नछाडेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । दलाल पुँजीवादीहरुले सरकारमा बसेर तमासा देखाउने, फण्डा गर्ने र पाेल्टिकल स्टन्ट गरिरहेका समेत अध्यक्ष ओलीले बताउनुभयाे ।

उहाँले भन्नुभयाे – ‘एउटा सचिव विचरा जहाँ सही गर भन्याे, टिप्पणी उठा भन्याे, अहिले हाेइन सेक्सन अफिसर हुँदा सही गर्‍याे र टिप्पणी गर्‍याे, उसलाई बाबु बिरामी भएर उपचार गर्न जाँदै गरेका बेला प्लेनकाे सिटबाट तानेर तमासा देखाइयाे, दलाल पुँजीवादीहरुकाे तमासा हाे याे, पाेल्टिकल स्टन्ट हाे याे, दलाल सरकारकाे फण्डा हाे याे, अरु केही हाेइन, यसका पछाडि दलाल पुँजीवादीहरु छन्, यिनकाे टुप्पी दलाल पुँजीवादीहरुकाे हातमा छ, यिनकाे टाउकाे त्यता त्यता घुम्छ जताजता दलाल पुँजीवादीहरुले टुप्पी समात्छन् ।’

दलाल शब्दलाई शेयर बजार बाहेक अन्त मन नपराइने गरिएकाे समेत उहाँले बताउनुभयाे ।

अध्यक्ष ओलीले राष्ट्रिय पुँजी, राष्ट्रिय अर्थतन्त्र र आत्मनिर्भरता निर्माओ गर्न सहकारीकाे सदुपयाेग गर्नुपर्ने र त्यसलाई माध्यम बनाइनुपर्ने बताउनुभयाे । सहकारी आवश्यक नभएकाहरु उद्याेगीहरुले सहकारी चलाउँदा अहिले समस्या आएकाे समेत उहाँले बताउनुभयाे । आवश्यक परेर चलाइएका सहकारीमा समस्या नरहेकाे समेत अध्यक्ष ओलीले बताउनुभयाे ।

आफूहरुकाे राष्ट्रिय राजनीति, राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय समाजनीति, राष्ट्रिय संस्कृति र राष्ट्रिय विदेश नीति रहेकाे र दलाल विदेशी नीति नरहेकाे उहाँले बताउनुभयाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖