• Monday 5th of October 2026

विशिष्टको रोजाइमा वीर अस्पताल


  • धनकुटा खबर
  • .

काठमाडौँ । वर्षौंदेखि खाली रहेको वीर अस्पतालको अति विशिष्ट तथा विशिष्ट कक्षमा पछिल्लो समय विशिष्ट व्यक्तिको उपचार हुन थालेको छ। आइतबार पूर्वराष्ट्रपति डा. रामवरण यादव वीर अस्पतालको विशिष्ट कक्षमा भर्ना भए ।

यसअघि विभिन्न मन्त्रालय सम्हाल्नुभएका मन्त्रीहरूले यसको सुविधा उपयोग गरिसकेका छन्। अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पतालको विशिष्ट कक्षको स्तरोन्नति तथा शय्या थप भएपछि विशिष्ट व्यक्तिको उपचार सुरु हुन थालेको जानकारी बताए । उनले वीर अस्पतालको विशिष्ट कक्षमा पूर्वराष्ट्रपति यादवसहित कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवको उपचार भइरहेको जानकारी गराए।

“वीर अस्पतालको विशिष्ट कक्षमा पूर्वराष्ट्रपति डा। रामवरण यादवसहित तीन जना भिआइपीको उपचार भइरहेको छ,” निर्देशक डा. पौडेलले भने, “पूर्वराष्ट्रपति यादवलाई उच्च रक्तचाप, मधुमेह तथा ब्याक पेनसम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको हो।” यसै गरी कोशी प्रदेशका मन्त्री कार्कीलाई डेङ्गु सङ्क्रमण देखिएपछि अस्पताल भर्नाका भएका हुन् ।

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएपछि चार दिनदेखि वीर अस्पतालको विशिष्ट कक्षमा उपचार भइरहेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका (न्याम्स) उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा अति विशिष्ट र विशिष्ट व्यक्ति आएर उपचार गर्नु सकारात्मक भएको जानकारी दिए।

यसैबिच वीर अस्पतालमा उपचाररत पूर्वराष्ट्रपति डा। यादवलाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भेट गरी स्वास्थ्यस्थितिबारे बुझेका छन्। मन्त्री बस्नेतले पूर्वराष्ट्रपति यादवसहित वीर अस्पतालमा उपचाररत तीन जना विशिष्ट व्यक्तिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖