• Monday 5th of October 2026

नेपालले साहिद अफ्रिदी र मिसबाह उल हकको टोलीसँग ‘ओभर फोटिज ग्लोबल कप’ क्रिकेट खेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । पाकिस्तानमा यसै महिना आयोजना हुने ‘एमसीडब्लू ओभर फोटिज क्रिकेट ग्लोबल कप’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता पाकिस्तान भेट्रान्स क्रिकेट एसोसिएसनले आयोजना गर्न लागेको हो । प्रतियोगिताको यो पहिलो संस्करण हो ।

यो प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने भएको छ । प्रतियोगिता सेप्टेम्बर १८ देखि अक्टोबर २ तारिखसम्म कराँचीस्थित विभिन्न पाँचवटा रंगशालामा खेलाइने छ । प्रतियोगितामा पाकिस्तान र नेपालका अतिरिक्त अमेरिका, अस्ट्रेलिया, वेस्ट इन्डिज, क्यानडा, हङ्कङ र संयुक्त अरब इमिरेट्स (यूएई) को सहभागिता रहेने छ।

प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय टोलीको घोषणा गरेको छ । घोषित टोलीमा किरण शमशेर राणा, उदयबहादुर थापा, विकास सिंह, सन्तोष भण्डारी, सजल देवकोटा, समिर थापा, रामनरेश यादव, रविन जोशी, बाबुजन अंसारी, मुर्तुजा हवारी, सञ्जय श्रेष्ठ (सिनियर), सञ्जय श्रेष्ठ (जुनियर), काशिराम भुषाल, सुमन उदय र खिमबहादुर थापा रहेका छन् ।

यसैगरी नेपाली टोलीको ब्यवस्थापकमा कणर्वीर थापाक्षेत्री रहेका छन् । प्रतियोगितामा रविन्द्र गुप्ताले अम्पायरको भूमिका निर्वाह गर्नेछन् । नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका किरणशमशेर राणाका अनुसार, प्रतियोगितामा विश्व क्रिकेटमा चर्चित पूर्व खेलाडीहरुको सहभागिता रहनेछ ।

प्रतियोगिताका लागि आयोजक पाकिस्तानले पनि आफ्नो टोलीको घोषणा गरिसकेको छ । घोषित पाकिस्तानी टोलीमा साहिद अफ्रिदी, अब्दुल रज्जाक, मिसबाह उल हक, मोहम्मद सामी, हसन राजा, तारिक हारुन, खुर्रम अली खान, वकास अहमद, अब्दुल कादिर, मुहम्मद रिजवान अस्लम, कासिफ सिद्धकी, मुहम्मद इलयास, अफजल शाह, अमजद अली, इमरान अली, तसावर अब्बास, अदनान रइस र जुनैद खलिल नैनितालवाला रहेका छन् । अतिरिक्त खेलाडीमा यासिर हमिद, ह्यारिस अयाज र सेहजाद मलिक रहेका छन् ।

प्रतियोगिताका क्रममा कुल ३६ खेल खेलिने समाचारमा जनाइएको छ । प्रतियोगिताको उद्घाटन आगामी सोमबार साँझ कराँचीस्थित गभर्नर हाउसमा हुनेछ । प्रतियोगिता ४५—४५ ओभरको खेलाइने जानकारी पनि राणाले दिए । नेपालले आफ्नो पहिलो खेल आगामी मंगलबार हङ्कङसँग खेल्नेछ ।

नेपालले दोस्रो खेल बुधबार आयोजक पाकिस्तानसँग खेल्नेछ । नेपालले तेस्रो खेल सेप्टेम्बर २२ मा यूएईसँग, चौथो खेल सेप्टेम्बर २४ मा क्यानडासँग, पाँचौं खेल सेप्टेम्बर २५ मा वेस्ट इन्डिजसँग, छैठौं खेल सेप्टेम्बर २७ मा अमेरिकासँग र आठौं खेल सेप्टेम्बर २८ मा अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖