काठमाडौं । एसिया कपको उपाधिका लागि आइतबार नेपाली समयअनुसार मध्याह्न ३:१५ बजे साविक विजेता श्रीलंका र भारत आमनेसामने हुँदैछन् । दुवै टिम एसिया च्याम्पियन बन्दै ओडीआई विश्वकपमा आफ्नो दाबी बलियो बनाउने लक्ष्यमा छन् ।
फाइनललाई लिएर उत्साहित समर्थक वर्षाका कारण खेल प्रभावित नहोस् भन्ने चाहन्छन् । भारतलाई आठौं पटक एसिया च्याम्पियन बन्ने र श्रीलंकाली युवा टिमलाई सर्वाधिक उपाधि जित्ने कीर्तिमान बराबरी गर्ने अवसर छ ।
भारतले सुपर फोरमा श्रीलंकालाई नै पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो । २ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ७२ रनमा अल आउट भएको थियो । श्रीलंकाले जारी प्रतियोगितामा बेहोरेको एकमात्र हार यही हो ।
श्रीलंकाले उपाधि दाबेदार पाकिस्तानलाई २ विकेटले हराएर भारतसँगको भेट पक्का गरेको हो । सुपर फोरको अन्तिम खेलमा भने भारत बंगलादेशसँग ६ रनले स्तब्ध भयो । यो खेलमा राहुल दविडले ५ परिवर्तन गरेका थिए । विराट कोहली, जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पान्डेया र कुलदीप यादवलाई आराम दिइएको थियो ।
ओडीआईमा बंगलादेशले एघार वर्षपछि भारतमाथि जित हात पारेको हो । फाइनलअघि यो हारले आत्मविश्वासमा केही कमी आएपछि रोहित शर्माको टिम सशक्त रुपमा फाइनलमा फर्कने लक्ष्यमा छ ।
२ अर्धशतक र १ शतकसहित २ सय ७५ रन बनाएका भारतका शुभमन गिल जारी प्रतियोगिताका सर्वाधिक रनकर्ता हुन् । कप्तान रोहित शर्माले १ सय ९४ रन बनाएका छन् । कुलदीप यादवले भारतका लागि सर्वाधिक ९ विकेट लिएका छन् । विराट कोहली, केएल राहुल र इशान किसन पनि उत्कृष्ट फर्ममा छन् । भारतका जसप्रित बुमराह र रविन्द्र जडेजाले भारतका लागि किफायती बलिङ गर्दै आएका छन् ।
प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो र तेस्रो स्थानमा श्रीलंकाका कुशल मेन्डिस र सदिरा समर विक्रमा छन् । मेन्डिसले २ सय ५३ र विक्रमाले २ सय १५ रन बनाएका छन् । विकेट लिने मामिलामा पनि मथिशा पाथिराना र दुनिथ वेललागेको जोडीको दबदबा छ । पाथिराना ११ र वेललागे १० विकेटसहित शीर्ष र दोस्रो स्थानमा छन् ।
भारतविरुद्धको सुपर फोरमा वेललागेले भारतका शीर्षसहित पाँच ब्याटरलाई मैदान बाहिर पठाएका थिए । कप्तान दासुन शनाका सुपर फोरमा कमजोरी नदोहोर्याउने उद्देश्यमा हुनेछन् ।
फाइनलअघि दुवै टिमलाई खेलाडीको चोटले झट्का लागेको छ । श्रीलंकाका स्पिनर माहिस थिक्साना र भारतका अल राउन्डर अक्सर पटेल उपलब्ध हुने छैनन् ।
आईसीसी, एसीसी र ट्राइ सिरिजसहित सबै प्रतियोगितामा दुई टोली २० औं पटक उपाधि भिडन्तमा आमने सामने हुँदैछन् ।
२००२ को च्याम्पियन्स ट्रफीको फाइनल खेल वर्षाका कारण पूर्ण हुन नसक्दा यी दुवै टोली संयुक्तरुपमा विजयी घोषित भएका थिए । एसिया कपको इतिहासमा यी दुई टोलीबीचको यो आठौं फाइनल हुनेछ । अघिल्ला सात उपाधि भिडन्तमा भारतले ४ र श्रीलंकाले ३ फाइनल जितेको छ ।
