• Monday 5th of October 2026

यस वर्षको संविधान दिवस खल्लो, संविधानका पिता सुशील-सुवासको निधन, प्रचण्ड विदेशतिर


  • धनकुटा खबर
  • .

काठमाडौं,३१ भदौ । संविधान सभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा सरकारले हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउँदै आइरहेको छ । नेपाली जनताको त्याग, बलिदान, संघर्ष र सात दशक लामो पर्खाइपछि संविधान सभाबाट जारी भएको नयाँ संविधानको सम्झनामा २०७२ सालदेखि सरकारले हरेक वर्ष असोज ३ गते भव्य रुपमा संविधान दिवस मनाउँदै आएको थियो ।

संविधान दिवसको पूर्व सन्ध्यामा संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको आकस्मिक निधन भएको छ । तत्कालीन संविधान सभाका अध्यक्ष, पूर्व सभामुख तथा नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेतासमेत रहेका सुवासचन्द्र नेम्वाङलाई धेरैले संविधानका पिताको रुपमा चित्रण गर्ने गरेका थिए । हुनपनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा उनको भूमिका निणार्यक थियो ।

संविधान सभाबाट जननिर्वाचित जनप्रतिनिधिमार्फत आफ्ना हक र अधिकार समेटिएको संविधान जारी होस् भन्ने नेपाली जनताको आकांक्षा र चाहनालाई सम्बोधन गर्दै २०७२ असोज ३ गते संविधान सभाबाट नयाँ संविधान जारी गराउने काममा तत्कालीन संविधान सभाका अध्यक्षको हैसियतमा नेम्वाङको भूमिका अत्यन्तै महत्वपूर्ण थियो ।

शालीन र भद्र नेताका रूपमा चिनिने नेम्वाङ आफ्नो राजनीतिक जीवनमा संविधान सभाका अध्यक्ष र सभामुखदेखि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसद्को सार्वजनिक लेखा समितिको सभापतिसम्म भएका थिए ।

२०६२/०६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा नेम्वाङले खेलेको नेतृत्वदायी र अनुकरणीय भूमिका निर्वाह गरेका थिए । संविधान निर्माण गर्ने बेलामा विभिन्न असहमत पक्ष तथा विषयवस्तुमा छलफल र संवादको माध्यमबाट सहमतिमा पुग्नुपर्छ भन्ने तर्क अघि सार्ने नेम्वाङले दलहरूलाई एकै ठाउँ राखेर असहमतिका बुँदाहरूमा सहमति जुटाउने निरन्तर प्रयास गरेका थिए ।

संविधान निर्माणकै क्रममा न्याय प्रणाली, नागरिकता, राज्यको शासकीय स्वरूप, निर्वाचन क्षेत्र निर्धारणको मापदण्ड लगायतमा नेम्वाङले मध्यमार्गी र वैज्ञानिक बाटोबाट अघि बढ्न दलहरूलाई सुझाव दिने गरेका थिए । उनकै दृढ संकल्प र समन्वकारी नेतृत्वका कारण नयाँ संविधान जारी हुन सम्भव भएको सबै राजनीतिक दल र तीनका नेताहरुले स्वीकार गर्छन् ।

सरकारले असोज ३ गतेलाई हर्षउल्लासका साथ संविधान दिवस मनाउने तयारी गरिरहँदा उनको आाकस्मिक निधनले भएका कारण यस वर्षको संविधान दिवस खल्लो भएको छ ।

नेम्वाङ जस्तै संविधान जारी गर्न महत्वपूर्ण मूमिका निर्वाह गर्नेमध्येका एक नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पनि निधन भइसकेको छ । तत्कालीन अवस्थामा संसदमा सबैभन्दा ठूलो दलको नेताको रुपमा रहेको नेपाली कांग्रेस र उक्त पार्टीका सभापति तथा प्रधानमन्त्रीको रुपमा रहेका कोइरालाले संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

स्वर्गीय नेताद्वय नेम्वाङ र कोइरालालाई नेपालीहरुले संविधानका पिताको रुपमा चिन्छन् । उनीहरुकै दृढताको कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्न सम्वभ भएको थियो । जतिसूकै बाह्य दवाब आएपनि तोकिएकै समयमा संविधान सभाबाट संविधान जारी गराउन दुवै नेताले महत्वपूर्ण भूमिका खेलेका थिए ।

संविधान जारी गर्न रोल मोडलको भूमिका खेल्नेमध्येका दुई नेताहरुको निधन भइसकेको छ । कोइरालाको निधन संविधान जारी भएकै वर्ष २०७२ माघ २६ गते भएको थियो । उनको आकस्मिक निधनलाई लिएर बेलाबखत प्रश्न उठ्ने गरेको छ । यद्यपि अस्पतालले उनको निमोनियाको कारण निधन भएको रिर्पोट सार्वजनिक गरेको थियो । कोइरालालाई नेपालको राजनीतिमा एक भद्र, सालीन, र इमान्दार राजनीतिज्ञको रुपमा चित्रण गर्ने गरिन्छ ।

संविधान सभाबाट नयाँ संविधान जारी गराउन महत्वपूर्ण भूमिका खेल्ने अर्का पात्र हुन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। हाल प्रधानमन्त्रीसमेत रहेका दाहालले नेतृत्व गरेको तत्तकालीन माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लेखनका बारेमा वहस सुरु भएको थियो ।

दाहाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका शुत्रधारका रुपमा लिईन्छ । संयोजनकारी भूमिका र सबै दललाई मिलाएर नेतृत्व गर्न सक्ने खुबीकै कारण नयाँ संविधान जारी गर्न सहज भएको थियो । संविधान जारी गराउन महत्वपूर्ण भूमिका खेल्ने तीन शीर्षस्थ नेतामध्येका एक रहेका दाहाल पनि संविधान दिवसको पूर्वसन्ध्यामा देश बाहिर छन् ।

उनी संयूक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गर्न हिजो (शनिबार) अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाल उतैबाट छिमेकी मुलक चीनको भ्रमणमा जानेछन् । उनी असोजको पहिलो सातापछि मात्रै नेपाल फर्किनेछन् । संविधान बनाउन महत्वपूर्ण भूमिका खेलका प्रधानमन्त्री दाहाल नै स्वयं देशमा नभएपछि यस वर्षको नवौं संविधान दिवस उल्लासपूर्ण नहुने निश्चित छ ।

विभूषण र पदक पनि वितरण नगरिने

सरकारले संविधान दिवसका दिन दिँदै आएको विभूषण, मान पदवी र पदक यसवर्ष कसैलाई पनि वितरण नगर्ने निर्णय गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारद्वारा संविधान र गणतन्त्र दिवससहितका उपलक्ष्यमा बाँडिएका पदकहरुबारे बारम्बार प्रश्न उठेपछि यसपटक पदक वितरण नगर्ने निर्णय गरेको हो ।

सरकारले यसअघि मनलाग्दी बाँड्दै आएका पदकलाई कतिपयले अस्वीकार गर्दै आएका थिए। राष्ट्रका लागि योगदान गरेका व्यक्तिलाई दिनुपर्ने पदक पहुँचवालाका आसेपासेसम्म पुग्न थालेपछि यसको महत्व पनि घट्दै गएको थियो।0कमल बुढाथोकी/reportersnepal

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖