• Saturday 28th of November 2026

मोटरसाइकलले ठक्कर दिएको बदला लिन खोज्दा भएको थियो तिनकुने हत्याकाण्ड


  • धनकुटा खबर
  • .

काठमाडौंको तिनकुनेस्थित एउटा काठ मिलमा शुक्रबार राति भएको हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिँदा भएको खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए।

राठौरका अनुसार केही समयअघि नवीन भनिने विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएका थिए।

ठक्कर दिएपछि राईले उनलाई कुटपिट पनि गरेका थिए। जन्मजात बोल्न नसक्ने भण्डारीले त्यसपछि राईसँग पटक-पटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका थिए।

‘कुरा हुन नसकेपछि शुक्रबार उनी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने मिलमा गएका थिए,’ एसएसपी राठौरले भने,‘मिलमा उनले सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरे। त्यसपछि मिलमा अरू मान्छे पनि देखेपछि उनीहरूले प्रहरीलाई भनिदिन्छन् भन्ने ठानेर अरू तीन जनाको पनि त्यही खुकुरीले हानेर हत्या गरेको देखिन्छ।’

भण्डारीले सोही मिलमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा सुभद्रा भुजेलको पनि हत्या गरेका थिए।

चार जनाको हत्या गरेर भण्डारी काँडाघारीस्थित दिदी-भिनाजुको घरमा गएर बसेका थिए।

आइतबार बिहान उनी काठमाडौंमा प्रहरीले आफूलाई पक्रन सक्ने ठानेर सिन्धुपाल्चोक जान लागेका थिए।

‘प्रहरीले उनलाई सिन्धुपाल्चोक जान लाग्दा पक्राउ गरेको हो,’ राठौरले भने,‘पक्राउ पर्दा उनले हत्या भएको दिन लगाएका लुगा नै लगाएका थिए भने झोलामा खुकुरी राखेका थिए।’

भण्डारीले सिन्धुपाल्चोकमा ८ सम्म र काठमाडौंमा १२ कक्षासम्म सांकेतिक भाषामा पढेका थिए।

उनको बयान लिन प्रहरीले सांकेतिक भाषा विज्ञलाई बोलाएको थियो।
भण्डारीले हत्या गरेको स्वीकारेपछि प्रहरी शनिबार पक्राउ गरेका एक युवकलाई रिहा गरिदिएको छ।-यूनिक श्रेष्ठ/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖