• Monday 5th of October 2026

रुपन्देहीमा झडप हुँदा एकको मृत्यु, तीन घाइते


  • धनकुटा खबर
  • .

रुपन्देहीको तिलोत्तमामा भएको झडपमा परी एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।प्रहरीका अनुसार सोमबार विश्वकर्मा पूजापछि रमझमका क्रममा झडप भएको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार तिलोत्तमा– ९ केवलानीमा भवन निर्माणसँग सम्वन्धित मजदुरहरु आपसमा मिलेर विश्वकर्मा पूजा गरेपछि रमाइलो गर्ने क्रममा झडप भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

‘विश्वकर्मा पूजापछि मदिरा सेवन गरी नाचगानसहितको रमाइलो गरेको र सो क्रममा उनीहरुवीच झडप भएको देखिन्छ, तर घटना संवेदनशिल रहेकाले यसलाई फराकिलो दायरा बनाउँदै गम्भिर अनुसन्धानमा प्रहरी जुटेको छ। थप अनुसन्धानपछि नै खुल्छ,’ उनले भने।

झडपमा गम्भीर घाइते भएका हेटौंडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङ्ताङको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। झडपमा परी काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइबा, गढी गाउँपालिका मकवानपुरका राजु तामाङ र सोही ठाउँका हस्तसिंह तामाङ घाइते भएका छन्।

घाइतेहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। झडपमा संलग्न भएको आशंकामा १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी नायव उपरीक्षक थापाले घटनाको अनुसन्धान भइरहेको बताएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖