• Monday 5th of October 2026

राजनीतिक परिवारमा हुर्कियो भन्दैमा उसैले अवसर पाउनुपर्छ भन्ने ठान्दिनँ: सुहाङ नेम्वाङ


  • धनकुटा खबर
  • .

दिवंगत संविधान सभाका अध्यक्ष सुवास नेम्वाङका कान्छो छोरा सुहाङ नेम्वाङले राजनीतिक परिवारमा हुर्किएकै आधारमा अवसर पाउनुपर्ने भन्ने आफूले नठानेको बताएका छन्।

मंगलबार इलाममा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सुहाङले भने, ‘म राजनीतिमा सक्रिय छैन। तर म उहाँ (बुवा) सँग हुर्किएको हुँ। म राजनीतिक परिवेश, राजनीतिक परिवारमा जन्मिएको, हुर्किएको हुँ, तर म कदापी ठान्दिनँ कि राजनीतिक परिवारमा हुर्कियो भन्दैमा उसैले अवसर पाउनुपर्छ।’

उनले आफ्ना बुवाले कतिपय कामहरू अधुरै छाडेको र त्यसमा आफूले सामाजिक रूपले हातेमालो गर्दै अघि बढ्ने पनि बताए।

‘राजनीतिक जिम्मेवारी नहुँदा नहुँदै पनि बुवाको सपना, बुवाले अधुरो गर्नुभएको कार्यहरू, पूरा गर्नुभएको कार्यहरू सामाजिक र कानुनी हिसाबले कुन हिसाबले अगाडि बढ्न सकिन्छ, हजुरहरूसँग हातेमालो गरेर अगाडि बढौं भनेर म निवेदन गर्न चाहन्छु,’ उनले भने।

उनले आफूलाई जनताबाट सल्लाह, सुझाव र सहयोग चाहिएको पनि बताए।

संविधान सभा अध्यक्ष सुवास नेम्वाङको भदौ २६ गते मंगलबार बिहान निधन भएको थियो। उनको हृदयघातबाट निधन भएको थियो। उनको निधन हुँदा सुहाङ अष्ट्रेलियामा थिए। जेठा छोरा बेलायतमा थिए। उनीहरू फर्किएपछि गत बिहीबार अन्त्येष्टि गरिएको थियो।

सुवास नेम्वाङ नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य समेत थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖