• Monday 5th of October 2026

राष्ट्रिय उपलब्धिहरूलाई समाप्त पार्ने प्रयास भइरहेको छ : केपी ओली


  • धनकुटा खबर
  • .

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय उपलब्धिहरूलाई समाप्त पार्ने प्रयास भइरहेकाे बताउनुभएकाे छ ।
संविधान दिवसकाे अवसरमा काठमाडौंकाे नक्सालस्थित नारायण चौरमा बुधबार बिहान आयाेजित राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय एकतालाई खलल पुर्‍याउने प्रवृत्तिहरू देखा पर्न थालेका बताउनुभयाे ।

हाम्रो संविधान राष्ट्रिय एकता र सबलताको संविधान भएकाे भन्दै उहाँले त्याे एकतालाई अभिव्यक्ति र क्रियाकलापबाट समाप्त पार्न खाेज्रे प्रयास भइरहेका बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘कहीँकतै हाम्रा उपलब्धिलाई समाप्त पार्न खाेज्ने, या त अभिव्यक्तिबाट, या त क्रियाकलापबाट यस्ता प्रयास छिटफुट हुने गरेका छन्, त्यस्ता क्रियाकलापहरुप्रति म दु:ख व्यक्त गर्न चाहान्छु ।’

जुनसुकै नाम, आवरणको भए पनि राष्ट्रिय एकतालाई खल्बल्याउने खालका विचार र प्रवृत्ति सकारात्मक हुनै नसक्ने भन्दै उहाँले यस्ता प्रवृत्तिलाई असफल पारेर अगाडि बढ्नुपर्ने बताउनुभयाे ।

अध्यक्ष ओलीले भन्नुभयाे – ‘राष्ट्रिय एकता खल्बल्याउने खालका विचारहरु सकारात्मक कुरा हुन सक्दैन, देशका लागि, देशकाे उन्नति प्रगतिका लागि, जनताकाे एकताकाे लागि, यस्ता विभाजनकारी प्रवृत्तिहरु, जनतामा फाटाे ल्याउने प्रवृत्तिहरु, राष्ट्रिय एकतामा खलल पुर्‍याउने प्रवृत्तिहरु, अनेक प्रकारका क्षेत्रीय, साम्प्रदायिक, जातियतावादी अथवा जुनसुकै नाममा गरिने भएपनि, अथवा कुनै राजनीतिक मतभारकाे हिसाबले गरिने यस्ता उच्श्रृंखल क्रियाकलाप राष्ट्रिय एकताकाे पक्षमा छैनन् र यसले हाम्राे राष्ट्रिय एकतालाई कमजाेर पार्छ बलियाे पार्दैन, यस्ता कुरा नगर्न म आग्रह गर्छु ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖