• Monday 5th of October 2026

भारतीय टोलीले रच्यो इतिहास, क्रिकेटको तीनवटै फर्म्याटमा बन्यो नम्बर १ टोली


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । सन् २०२३ को विश्वकपअघि भारतीय क्रिकेट टोली आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टिम बनेको छ । मोहालीमा भएको एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै भारतीय क्रिकेट टोलीले यो स्थान हासिल गरेको हो ।

योसँगै भारतीय टोलीले नयाँ इतिहास रचेको छ । अब भारतीय टोलीले क्रिकेटका तीनवटै फर्म्याट, टेस्ट, ओडीआई र टी–२० मा एकैसाथ नम्बर १ को वरियतामा कब्जा जमाएको छ । यो पहिलो पटक हो जब भारतले क्रिकेटका तीनवटै फर्म्याटमा एकै पटक नम्बर १ टिम बन्ने गौरव प्राप्त गरेको हो ।

यो स्थान हासिल गर्ने भारतीय टोली विश्वको दोस्रो टोली हो। यसअघि सन् २०१२ को अगस्टमा दक्षिण अफ्रिकी क्रिकेट टोलीले पनि यस्तै उपलब्धि हासिल गरेको थियो।

एसिया कप जित्दा पनि भारत आईसीसी एकदिवसीय वरियतामा दोस्रो स्थानमा थियो भने पाकिस्तान फाइनलमा नपुगे पनि पहिलो स्थानमा थियो । अर्कोतर्फ, भारत र अस्ट्रेलिया दुवैले नम्बर १ टोली बन्ने मौका पाएका थिए ।

दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा अस्ट्रेलियाले त्यो मौका गुमायो । अब मोहालीमा भारतसँगको तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा अस्ट्रेलिया पराजित भएको छ ।

अर्कोतर्फ, यो खेल जितेर भारतले आफ्नो वरियतामा ११६ अङ्क बढाएर पाकिस्तान (११५) लाई पछि पार्दै नम्बर १ टोली बनेको छ । अस्ट्रेलिया १११ अङ्कसहित तेस्रो स्थानमा छ । अब अस्ट्रेलियाले यस शृङ्खलाका अर्को दुई खेल जित्दा पनि विश्वकपअघि आईसीसी वरियतामा नम्बर १ टोली बन्न सक्नेछैन ।

यदि अस्ट्रेलियाले अर्को दुई खेल जित्यो भने पाकिस्तान र भारतको बराबरी अङ्क हुनेछ तर पाकिस्तानी टोलीले फेरि आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ ताज हासिल गर्नेछ। भारतले यो सिरिज २–१ ले जित्यो भने एकदिवसीय वरीयतामा ११६ अङ्क र ३–० ले जित्यो भने ११८ अङ्क प्राप्त गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖