काठमाडौं – घाइते स्पिनर ललितनारायण राजवंशीको स्थान सागर ढकालले लिने भएका छन् । यसै साता ललित टियु क्रिकेट मैदानमा अभ्यास खेलको क्रममा फिल्डिङ गर्नेक्रममा घाइते भएका थिए । ललितको बायाँ हातको ब्यूटीबोनको शल्यक्रिया गरेपछि नेपालले १९ औं एसियाली खेलकुद खेल्न सागरलाई टोलीमा समेट्ने भएको हो ।
क्यान स्रोतले हाम्रो खेलकुदलाई ललितको स्थान सागरले लिने जानकारी दिएको छ । बायाँ हाते युवा स्पिनर सागरले नेपालबाट ८ ओडिआई र २ टि२० आई खेल खेलेका छन् । सागरले २०२२ मार्चमा आइसिसी विश्वकप लिग २ मा शारजाहमा पपुवा न्युगिनीविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए ।
पछिल्लो पटक २०२२ डिसेम्बरमा उनले स्कटल्यान्डविरुद्ध खेलेका थिए । डिसेम्बरमा नामिबिया भ्रमणपछि उनी टोलीमा छैनन् । स्पिनर सन्दीप लामिछाने र ललितको जोडीले लगातार राम्रो प्रदर्शन गरेपछि सागर बाहिरिएका थिए ।
नेपाली क्रिकेट टोली आइतबार चीन जादैछ । १९ औं एसियाली खेलकुद पुरुषतर्फ २७ सेप्टेम्बर देखी ८ अक्टोबर सम्म चीनमा हुँदैछ। पाँच टेस्ट टोली श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले सिधैं क्वाटरफाइनल खेल्नेछन् ।
समूह ए, बी र सी बाट विजेता टोली क्वाटरफाइनलमा आउनेछन् । समूह ए मा रहेको नेपालले २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ ।
नेपालको टोली ः
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि।सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) ।-हाम्रो खेलकुद
