• Tuesday 6th of October 2026

नाकाबन्दी पराजित गरेको क्षण सम्झिँदै ओलीले भने- देशलाई आत्मनिर्भर बनाउन छाड्न हुन्न


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी सम्झिँदै देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताएका छन् ।

ओलीले भारतीय नाकाबन्दीको ८ वर्ष पुगेको दिन शनिबार तत्कालीन नाकाबन्दीको बेला भूकम्पपीडित जनता पालभित्र बसेको र ग्याँसको लाइनमा लागेको तस्बिर सार्वजनिक गर्दै आफ्नो नेतृत्वमा नाकाबन्दी पराजित गरेको स्मरण समेत गरेका छन् ।

ओलीले जनतालाई पनि ती दिन कसरी सम्झिनु हुन्छ ? भन्ने प्रश्न गर्दै करिव ६ महिनाको नाकाबन्दीलाई जनताको समर्थनमा पराजित गरेको बताएका छन् ।

ओलीले भनेका छन्– आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु । जीवनमा कतिपय दिन यस्ता हुन्छन् ९ तिनलाई कहिलै बिर्सिन सकिँदैन। अस्पतालमा अक्सिजन,औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो । इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौं। देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब छ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं ।
कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ। जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन। तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?

२०७२ असोज ३ गते भारतको दबाब अश्वीकार गर्दै संविधान जारी भएको थियो । त्यसको दिन दिनपछि अर्थात असोज ६ देखि मधेश आन्दोलनको बहाना देखाएर भारतीय पक्षले अघोषित नाकाबन्दी लगाएको थियो ।

नाकाबन्दीकै बीच ओली प्रधानमन्त्री भएका थिए । ओलीले भारतीय नाकाबन्दीको सामु नझुक्ने भन्दै चीनसँग पारवहन सन्धी गरेपछि भारतीय पक्षले आफैं नाका खुलाएको थियो । ओलीले भारतीय नाकाबन्दीविरुद्ध लिएको अडान र चीनसँग पारवहन सन्धी गरेर भुपरिवेष्टित मुलुकको पक्षमा अन्तर्राष्ट्रिय मन्चहरुमा गरेको लबिङको प्रशंसा भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖