• Tuesday 6th of October 2026

६० प्रतिशतले घट्यो सुनको कारोबार, बन्द हुन थाले सुनचाँदी पसल


  • धनकुटा खबर
  • .

काठमाडाैं । बजारमा सुनचाँदीको कारोबार ६० प्रतिशतले घटेर ४० प्रतिशतमा सीमित भएको छ । बजारमा सुनचाँदीको माग न्यून हुँदा कारोबारमा उल्लेख्य गिरावट आएको हो । अन्य समयमा न्यून कारोबार भए पनि सिजनका बेला बढ्ने गथ्र्यो तर यसपालि कारोबार घटेको छ ।

लगातार सुनको मूल्यमा भएको वृद्धि र आर्थिक मन्दीका कारण सुनचाँदीको कारोबार न्यून हुँदा पछिल्लो समय ४० प्रतिशतमा सीमित भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनको कारोबारमा आधाभन्दा बढीले गिरावट आएको जानकारी दिए । उपभोक्तासँग क्रयशक्ति पर्याप्त नहुँदा सिजनको समय सुरु भए पनि सुनको कारोबार बढ्न नसकेको उनकाे भनाइ छ ।

लामो समयदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु र कारोबार नहुँदा सटर भाडा तिर्न नसकेपछि साना साना सुनचाँदी पसल बन्द पनि भएको बताउँदै उनले मूल्य बढ्दा तथा सुनको कारोबार नहुँदा व्यवसायी सटर भाडा तिर्न नकेपछि व्यवसाय परिवर्तन गर्ने र विदेशको जाने सङ्ख्या बढ्दै गएको बताए ।

तिजमा दैनिक ३० देखि ४० किलो सुन बिक्री हुने गरेको थियो, यसपालि दैनिक १० किलोभन्दा बढी बिक्री हुन नसकेको बताउँदै उनले बजारमा माग नै कम हुँदा सुनचाँदीको कारोबार हुन नसकेको बताए । तिजको असर दसैँमा पनि देखाउन सक्ने उनले बताए ।

बैंककाे चर्काे ब्याजदरका कारण सुनसँगै अन्य व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न कठिन रहेको छ । चाडपर्वका बेला सधैँ भिडभाड हुने नयाँ सडकका सुनचाँदी पसल यसपालि सुनसान देखिन्छन् । हाल सुन प्रतितोला एक लाख ११ हजार ५५० रुपियाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖