• Monday 5th of October 2026

भारतले भिसामा दिन ढिलो गरेपछि पाकिस्तानले आईसीसीलाई गुहार्‍यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १२औँ संस्करण भारतमा आयोजना हुँदैछ । प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको मिति नजिकिँदै गए पनि भारतले आफ्ना खेलाडी र खेल पदाधिकारीलाई भिसा (प्रवेशाज्ञा) दिन ढिलो गरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई गुहारेको छ ।

आफ्ना खेलाडीलाई भिसा दिन विलम्ब गरेका कारण प्रतियोगिताको तयारीमा बाधा पुगेको पीसीबीले जनाएको छ । विश्वकपअघि पाकिस्तानले दुई वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । पाकिस्तानले अक्टोबर २९ तारिखमा भारतको हैदराबादमा न्युजिल्यान्डसँग पहिलो अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको छ ।

पाकिस्तानी खेलाडीहरू दुबईमा भेला भएर हैदराबाद जाने योजनामा थिए । तर, भिसामा विलम्ब भएपछि अब पाकिस्तानी टोलीले आगामी बुधबार लाहोर हुँदै भारत जाने योजना बनाएको छ । पीसीबी स्रोतका अनुसार, पाकिस्तानी खेलाडीले एक साताअघि नै भिसाका लागि आवेदन दिएका थिए ।

आईसीसीले यसअघि नै विश्वकपमा सहभागी हुने १० वटै टोलीका खेलाडी र खेल पदाधिकारीको नाम भिसा प्रयोजनका लागि भारत सरकारलाई उपलब्ध गराइसकेको छ । पाकिस्तान सरकारले आफ्नो टोलीलाई भारतमा विश्वकप खेल्ने अनुमति पनि अन्तिम समयमा आएर दिएको थियो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एसिया कप खेल्न आफ्नो टोली पाकिस्तान नपठाउने निर्णय लिएपछि पाकिस्तान सरकारले पनि आफ्नो टोलीले भारतमा विश्वकप नखेल्ने अडान लिएको थियो । सोही कारणले पाकिस्तान सरकारले आफ्नो टोलीलाई भारतमा विश्वकप खेल्ने अनुमति दिन विलम्ब गरेको थियो ।

विश्वकपको तयारीका लागि पाकिस्तानले आफ्नो दोस्रो अभ्यास खेल भने अक्टोबर ३ तारिखमा अस्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि पाकिस्तानी टोली विश्वकप यात्रामा सहभागी हुनेछ ।

विश्वकपका लागि घोषित पाकिस्तानी टोलीमा बाबर आजम (कप्तान), सदाब खान, फाखर जामन, इमाम उल हक, अब्दुल्लाह सफिक, मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखार अहमद, सलमान अली अघा, मोहम्मद नवाज, उसमा मिर, ह्यारिस रउफ, हसन अली, साहिन शाह अफरिदी र मोहम्मद वसिम रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖