• Tuesday 6th of October 2026

दशैंको मुखमा किन बढिरहेको छ चामल, चिनी र मसलाको मूल्य?


  • धनकुटा खबर
  • .

काठमाडौं- २०७८ को दसैँतिहार आसपासबाट बढेको खानेतेलको मूल्य त्यसयता निरन्तर बढिरहेको छ। २०७८ साउन/भदौसम्म नेपाली बजारमा सूर्यमुखी तेल प्रतिलिटर १ सय ४० रूपैयाँको हाराहारीमा बिक्री भएको थियो। पछिल्लो समय एक्कासी तेलको मूल्य बढेर २ सय ४० देखि २ सय ५० रूपैयाँसम्म पुग्यो।

तोरीको तेल पनि प्रतिलिटर ३ सय ५० रूपैयाँसम्म पुग्यो। यसरी बढेको तेलको मूल्य अहिले कहिले लिटरमा २० रूपैयाँसम्म घट्ने त कहिले २० रूपैयाँ बढ्ने भइरहेको छ। अहिले पनि बजारमा सूर्यमुखी तेलको मूल्य प्रतिलिटर २ सय रूपैयाँभन्दा बढी नै छ। तोरीको तेलको मूल्यमा पनि खासै कमी आएको छैन।

उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायतका देशहरुबाट आयात गर्नुपर्दछ।

मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरूप नै नेपालको बजारको समेत मूल्य निर्धारण भइरहेको नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको दाबी छ। डलरको मूल्य बढ्दा पनि तेलको मूल्य बढिरहेको छ।

तेलपछि अहिले सबैभन्दा बढी मूल्य बढेको वस्तु हो मसला। मसलाजन्य वस्तुमा पनि जिराको मूल्य निरन्तर बढिरहेको छ। विगत ४/५ वर्षदेखि जिराको मूल्य प्रतिकिलो ५ सय रूपैयाँभन्दा माथि पुगेको थिएन। तर गएको दसैँ तिहारपछि भने बिस्तारै जिराको मूल्य बढ्न थालेको हो। खुद्रा बजारमा त जिरा प्रतिकिलो १३ सय ५० सय रूपैयाँसम्म पुगेको नेपाल चेम्बर अफ कमर्सका आपूर्ति सभापति देवेन्द्र भट्ट श्रेष्ठ बताउँछन्।

जिराको मूल्य बढेसँगै माग पनि केही घटेको छ। विगतका वर्षहरूमा भन्दा चालु आवमा जिरा आयात कम भएको छ। ‍पहिले जिराको बढीजसो व्यापार दसैँ तथा तिहार आसपासमा नै हुने गर्दथ्यो। अहिले जिराको माग सधैँजसो उस्तै नै छ। जिराको माग कोराना महामारीपछि झन् बढेको पाइन्छ। कोरोना महामारीमा विशेषगरी जिरा-पानी खाने प्रचलन बढेको थियो। तर पछिल्लो समय भने मूल्य बढ्दा माग केही घटेको हो।

नेपालमा खपत हुने जिरामध्ये केहीमात्र यहाँ उत्पादन हुन्छ। जिराको उत्पादन पनि नेपालमा जीवन निर्वाहमुखी नै रहेको देखिन्छ। व्यावसायिक रुपमा जिरा खेती हुन सकेको छैन। सहरी क्षेत्रमा हुने मागको ९० प्रतिशतभन्दा बढी जिरा विदेशबाट नै आयात हुन्छ। त्यसमा पनि धेरैजसो भारतबाट नै आयात भइरहेको छ।

पछिल्लो एक वर्षदेखि भारतमा नै जिराको उत्पादनमा कमी आएको छ। भारतले सार्क राष्ट्रबाहेकका देशमा जिरा निर्यातमा लगाएको प्रतिबन्ध पनि अहिले खुला गरिसकेको छ। जसका कारण पनि बजारमा जिराको अभावको स्थिति छ। बढ्दो मागअनुसार उत्पादन नहुँदा भारतमै जिराको मूल्य बढेको श्रेष्ठ बताउँछन्। पछिल्लो समय चीनमा भारतीय जिराको अस्वाभाविक माग बढेको र सोहीअनुसार जिरा निर्यात भएको छ। जसका कारण भारतमै जिराको मूल्य बढ्दा नेपालमा समेत त्यसको असर परेको छ। यसैगरी भन्सार विभागको निर्देशनमा जिराको बजार मूल्यअनुसार भन्सार मूल्यांकन हुँदासमेत जिराको मूल्य थप बढेको व्यवसायीहरू बताउँछन्।

यसैगरी चामलको मूल्य पनि बढ्दो छ। गत वर्षदेखि नै चामलको मूल्य बढ्दो छ। एक त भारतले चामल निर्यातमा लगाएको करका कारण नेपाली बजारमा १७ सय देखि १८ सय प्रतिबोरामा बिक्री भइरहेको जिरा मसिनो चालमको मूल्य बढेर २ हजार रूपैयाँसम्म पुगेको थियो। तर केही महिना अगाडि मात्रै भारतले चामल निर्यातमै प्रतिबन्ध लगाएपछि नेपाली बजारमा चामलको मूल्य बढ्दो छ। केही महिना अगाडि सम्म २ हजार प्रतिबोरा पाइने चामलको मूल्य बढेर २२ सयभन्दा माथि पुगेको छ।

पछिल्लो समयमा रातो दालको मूल्य पनि प्रतिकिलो १० रूपैयाँदेखि १५ रूपैयाँसम्म बढेको छ। यसैगरी गेडागुडीजन्य वस्तुको मूल्य पनि बढ्दो छ। पछिल्लो सयम चिनीको मूल्य पनि अस्वाभाविक रुपमा बढेको छ।

चिनीको मूल्य अहिले बढेर प्रतिकिलो १ सय ४० रूपैयाँसम्म पुगेको छ। यसैगरी अण्डाको मूल्य पनि प्रतिअण्डा नै ५ रूपैयाँसम्म बढेर १८ रूपैयाँसम्म पुगेको छ।

यी त केही प्रतिनिध वस्तु मात्रै हुन्। व्यापारीकै भनाइलाई आधार मान्ने हो भने दैनिक उपभोग्य वस्तुको मूल्य २ महिनामै २० प्रतिशतसम्मले बढेको छ। जसकारण नेपाली भान्छा म‌हँगो भइरहेको छ। खाद्यान्नसँगै इन्धनको मूल्य समेत बढेको छ। जसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्ने हो भने पनि मसलाजन्य वस्तुको मूल्य ४६ प्रतिशतसम्मले बढेको छ। बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत पर्ने मरमसलाको मूल्य सबैभन्दा धेरै ४५.५६ प्रतिशतले बढेको छ। यस्तै खाद्यान्नको १३.२० प्रतिशत, दूध तथा अण्डाको १२.१९ प्रतिशत, रेष्टुरेन्ट तथा होटलको ११.०५ प्रतिशत र तरकारीको १०.८० प्रतिशतले मूल्य बढेको छ।

गैर-खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृतिको १५.५५ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तहरुको ६.९३ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ६.७९ प्रतिशतले मूल्य बढेको छ।

काठमाडौंको उपभोक्तामा आधारित मुद्रास्फीति ८.५० प्रतिशतले बढेको छ। यस्तै तराईको ६.७० प्रतिशत, पहाडको ७.५० र हिमालमा ११.४६ प्रतिशतले मूल्यवृद्धि भएको छ।-बिजनेश न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖