• Tuesday 6th of October 2026

ड्राइभर र भरियालाई कारबाही गरेर सुन तस्करी रोकिँदैन : केपी ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकाले देशको समस्या बुझ्ने ल्याकत नराख्ने बताउनुभएको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले सरकारमा देशको समस्या बुझ्ने र समाधान गर्ने प्रतिबद्धता नभएको बताउनुभयो । अहिलेको सरकार चिल आयो भनेर आकाशमा देखाउने र भुईँमा कुखुरा चोर्ने प्रवृत्तिको रहेको ओलीको भनाइ छ ।

एकातिर भ्रष्टाचार सहन्न भनेर उफ्रने र अर्कोतिर सुन तस्करी गर्ने काममा सरकार र सरकारमा रहेको पार्टीका मानिसहरू लागेका ओलीले बताउनुभयो । ‘यो तरीकाबाट अर्थतन्त्र कसरी सप्रिन्छ’, ओलीले भन्नुभयो ।

व्यवसायीले हरेक सामान ल्याउँदा एलसी खोलेर ल्याउनु पर्ने बताउँदै ओलीले अरबौँ रुपैँयाको सुन भने कसरी आयो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले त्यो सुन कसको पैसाले आयो ? भन्ने प्रश्न राख्नु भयो । ‘अरबको सुन एक पटकमा आएको छ, एलसी त खोलेको छैन होला नि, कहाँबाट आयो पैसा ? को हो त्यो सुनको यत्रो कारोबार गर्ने को हो त्यो ?’ ओलीले प्रश्न गर्नुभयो ।

सुनको कारोबार गर्ने मानिसलाई सरकाले संरक्षण दिएर लुकाएको ओलीले बताउनुभयो । ‘ड्राइभर, भरियालाई कारबाही गरेर यो कसरी बन्द हुन्छ ? मुस्कुराई राखेको छ, जो अपराधी हो, जसले तस्करी गरिराखेको छ, त्यो मुस्कुराई राखेको छ, आनन्द लिइराखेको छ ऊ, वाहा ! क्या मजा छ, कसले लगानी गरिराखेको छ यहाँ ?’ ओलीले प्रश्न गर्नुभयो ।
सुन तस्करीको लागि विदेशी नागरिकलाई नेपाली नागरिकता दिएर २०७६ सालदेखि तयारी गरिएको ओलीले बताउनुभयो । ‘नागरिकता दिने मान्छे को हो ? किन नागरिकता दिइयो ? के कारणले दियो ? कति खाएर दियो ? कति लिएर दियो नागरिकता ?’, उहाँले प्रश्न गर्नुभयो ।

ओलीले ललिता निवासका जग्गामा सार्वजनिक सम्पत्तिलाई मेरो हो भनेर फिर्ता मागे झैँ गर्ने र मिलेमतोमा दिने काम गरिएको ओलीले बताउनुभयो । सार्वजनिक जग्गा निजी बनाउने र बनाइदिनेलाई कारबाही नगर्ने तर भाटभटेनी खोल्दा कमिसन दिएन भनेर व्यक्तिको सम्पत्ति किन्ने एउटा व्यवसायीलाई तर्साउने काम गरिएको ओलीको टिप्पणी छ ।

पछिल्लो समय बाल सुधार गृहमा समेत विद्रोह भएको भन्दै ओलीले यो सबै सरकारको कमजोरीको कारण भएको बताउनुभयो । उद्योग बन्द भइरहँदा पनि सरकार गम्भीर नभएको भन्दै उहाँले आलोचना गर्नुभयो । यस्तै अवस्थाबाट देश चल्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।

युवालाई देशमा बस्ने नदिएको कारण युवा बिदेसिएका ओलीले बताउनुभयो । शिक्षा, रोजगारी र उद्यमशीलता दिन नसकेको कारण युवा बिदेसिएका उहाँले प्रष्ट पार्नुभयो ।

सरकारले काम सकेका निर्माण व्यवसायीलाई समेत भुक्तानी नदिएको भन्दै ओलीले आलोचना गर्नुभयो । यसले देशको अर्थतन्त्र नै ठप्प भएको उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖