• Tuesday 6th of October 2026

इलाम-२ मा उम्मेदवारी बारे के भन्छन् झलनाथ?


  • धनकुटा खबर
  • .

काठमाडौं। दुई वर्षअघि एमालेबाट विभाजित भएको एकीकृत समाजवादीले पूर्वपार्टीको स्वामित्व आफूले लिँदै आगामी माघमा दशौं महाधिवेशन गर्न लागेको छ।

एमालेको चितवनमा सम्पन्न दशौं महाधिवेशन अघि विद्रोह गरेर गठित एकीकृत समाजवादीले आगामी महाधिवेशनलाई दशौं महाधिवेशनको संज्ञा दिएको छ।

यही भदौ ५ देखि ७ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले आगामी माघमा दशौं महाधिवेशन गर्ने निर्णय गरेको हो। एमालेबाट विभाजित भएर बनेको उक्त दलले एमालेको दशौं महाधिवेशन अस्वीकार गर्दै आफूलाई पार्टीको स्वामित्वकर्ता मानेको छ।

दुई वर्ष अघि गठित पार्टीको अध्यक्ष रहेका माधवकुमार नेपालको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका अर्का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले दशौं महाधिवेशनबाट नेतृत्व लिने चर्चा समेत चुलिएको छ।

सम्मानित नेता खनालले आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व गर्ने आकांक्षा सार्वजनिक रुपमा व्यक्त गरिरहेका छन्।

एमालेबाट विभाजित भएर गठन गरिएको नेकपा(एकीकृत समाजवादी)को सम्मानित नेता रहेका खनालले आगामी महाधिवेशनमा अध्यक्षको प्रत्याशी बन्ने सम्भावना औंल्याए।

बुधबार डिसी नेपालसँगको कुराकानीमा उनले परिस्थिति निर्माण भएर नेता कार्यकर्ताले आवश्यकता महशुस गरे नेतृत्वमा आउन सक्ने सम्भावना रहेको बताएका हुन्।

उनले भने, ‘हाम्रो पार्टीको आगामी दशौं महाधिवेशनमा परिस्थितिको निर्माण र आवश्यकता भयो भने नेतृत्व लिन सक्छु।’

उनले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दिशामा अगाडि बढेको जनाउँदै दशौं महाधिवेशनमा वैचारिक रुपमा क्रान्तिकारी कार्यदिशा तय गरिने जिकिर गरे।

सम्मानित नेता खनालले एमालेबाट विभाजित भएको दुई वर्षको समयावधि गुज्रिएकाले आगामी महाधिवेशन मार्फत पार्टीलाई रुपान्तरणकार गर्न केन्द्रित हुने दाबी गरे।

नेता खनालले भने, ‘एमालेबाट विद्रोह गरेपछि क्रान्तिकारी पार्टी निर्माण गर्ने कार्यभार आगामी महाधिवेशनले टुंगो लगाउँछ। पार्टीको नेतृत्व र कार्य दिशा रुपान्तरित गर्ने अभियानमा केन्द्रित भएका छौं।’

साथै, उनले पछिल्लो समय चर्चामा रहेको दिवंगत एमाले नेता सुवास नेम्वाङको रिक्त निर्वाचन क्षेत्र इलाम२मा उम्मेदवारीको चर्चाबारे आफूले कुनै आकांक्षा व्यक्त नगरेको प्रष्ट्याए।

उनले भने, ‘इलामको बासीन्दा भएकाले र त्यहाँबाट सदनमा प्रतिनिधित्व गरेकाले साथीहरुले सदाशयता राख्नु स्वभाविक हो तर यसबारेमा कुनै ठोस निर्णय गरिसकेको छैन।’

इलाम २ बाट निर्वाचित नेम्वाङको निधन पछि रिक्त उक्त निर्वाचन क्षेत्रमा उम्मेदवारीको विषयमा आधिकारिक रुपमा कसैसँग छलफल नगरिएको उनको भनाइ छ। उनले सबैको समझदारी भए सोच्न सकिने बताउँदै अहिल्यै उम्मेदवारीबारे कुनै तयारी नगरेको जनाए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖