• Tuesday 6th of October 2026

डाक्टर कुट्नेलाई तत्काल कारबाही गर्न एमालेको माग


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेले डाक्टरहरुमाथि निरन्तर भएको दुर्व्यवहार, आक्रमण र तोडफोडप्रति निन्दा गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै
विगत केही समयदेखि स्वास्थ्य संस्था र चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि निरन्तर भइरहेको दुर्व्यवहार, आक्रमण र तोडफोडको निन्दा गरेका हुन् ।

‘विभिन्न जोखिम मोलेर बिरामीको सेवामा जुटिरहेका चिकित्सक लगायत स्वास्थ्यकर्मीलाई श्रृंखलाबद्ध सांघातिक हमला हुनुमा प्रशासन नै जिम्मेवार छ’, श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न बहानामा प्रशासनबाट कुनै कारबाही नहुने भएपछि अपराधीको मनोबल स्वतः बढ्ने नै भयो ।’

एमालेले स्वास्थ्यकर्मीहरू माथि यस्तो प्रकृतिका सांघातिक हमला भएको पहिलो नभई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा, कञ्चनपुर, लमजुङ, चितवन, मणिपाल अस्पताल पोखरा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा निरन्तर सांघातिक हमला भइरहेको र गृह प्रशासनले दोषीहरूलाई कानुनी कारबाही गर्नुको बदला संरक्षण दिने काम गरेको आरोप लगाएको छ ।

‘विगतमा भएका चिकित्सक लगायत पेशागत संघ संगठनसँग भएका सम्झौता र प्रतिबद्धताहरू हालसम्म कार्यान्वयन भएको देखिएन, उल्टै अपराधीहरूलाई सत्ताको आडमा राजनीतिक संरक्षण दिई कानुनी राज्यको उपहास गरिएको छ’, एमालेले भनेको छ ।

स्वास्थ्यकर्मीहरूलाई कार्यस्थलमा सांघातिक आक्रमण, अभद्र व्यवहार र स्वास्थ्य संस्थाहरूको तोडफोड गर्ने दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र पहिलो संशोधन २०७९ बमोजिम तत्काल कानुनी कारबाही गर्न पनि एमालेले माग गरेको छ । आक्रमण र कुटपिटको विरोधमा मंगलबारबाट डाक्टरहरु आन्दोलित बनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖