• Tuesday 6th of October 2026

प्रणयसुत्रमा विप्लवपुत्रः पार्टी प्यालेसमा ईंगेजमेन्टपछि जनवादी बिहे, होटलमा रिसेप्सन


  • धनकुटा खबर
  • .

काठमाडौं । टिनको छानो भएको हलभित्र ‘एकीकृत जनक्रान्ति जिन्दावाद’ सानो अक्षरमा र ‘प्रगतिशील विवाह समारोह’ ठूलो अक्षरमा लेखिएको ब्यानर टाँगिएको छ । वरपरका भित्ताहरूमा यत्रतत्र पार्टीका नारा, शहिदका तस्वीर, मार्क्सदेखि माओसम्मका उद्दरण देखिएका ब्यानरै ब्यानर छन् । स्टेजमा छन् एक जोडी दुलाहा-दुलही र केही गन्यमान्य । दर्शक दिर्घामा दुई सयजति आगन्तुक ।

चर्चित कम्युनिष्ट नेता नेत्रविक्रम चन्द ‘विप्लव’ का सुपुत्र प्रकाश चन्दले ‘जनवादी’ शैलीमा हिजो गरेको विवाहको दृष्य हो यो । कपिलवस्तुको शिवगढी (जहाँ विप्लवको पुर्ख्यौली घर पनि छ) मा रहेको पार्टी मुख्यालयभित्रको एउटा हलमा वैवाहिक कार्यक्रम भएको थियो । तर, कार्यक्रमको माहोलले विवाहको झनक कतै पनि आउँथेन ।

दुलाहा प्रकाश कोर्ट पाइन्टमा थिए । दुलही सारी चोलोमा । टाउको पछाडि घुम्टो लगाएकी थिइन् । सुरूमा कार्यक्रम उद्घोषकले दुलाहा-दुलहीलाई आसन ग्रहण गराए । बुवाआमालाई मञ्चमा निम्त्याइयो । विप्लवका नेता खड्गबहादुर विश्वकर्माले पनि मञ्चमै स्थान पाए ।

कार्यक्रममा दुलाहालाई प्रकाश ‘सी’ र दुलहीलाई मान्यता ‘सी’ भनेर सम्बोधन गरिएको थियो । (विप्लव माओवादीमा अहिले नेता कार्यकर्ताले आफ्नो थर हटाएर सबैले ‘सी’ लेख्ने अभ्यास गरिरहेका छन् । यसैले जातीय विभेद नहुने र सबैलाई समान देखाउने पार्टीको तर्क छ । सीको अर्थ चाहीँ कमरेडको छोटकरी ।)

उद्घोषकले बताएअनुसार प्रकाश सी र मान्यता सीले आफूहरू आठ वर्षदेखि आपसी प्रेम सम्बन्धमा रहेको भन्दै जनवादी विवाहका लागि पार्टीमा निवेदन दिएका थिए । उनीहरूको निवेदन स्वीकृत भएपछि विवाहको कार्यक्रम तय भएको हो । कार्यक्रममा अतिथिका रूपमा गण्डकी प्रदेशका सभामुख तुलाराम घर्तीमगर आमन्त्रित थिए ।

कुन्नी के अर्थमा हो, दुलाहा र दुलहीले एक-एकवटा मैनबत्ती सल्काए र एक-अर्काकोमा ठोकेर निभाए । त्यसपछि उद्घोषकले एक-अर्कालाई माला र टीका लगाइदिन आग्रह गरे । दुलाहाले दुलहीलाई र दुलहीले दुलाहालाई दुवोको माला लगाइदिए । एक-अर्कालाई टीका लगाइदिए । विवाह सकियो ।

त्यसपछि सुरू भयो भाषण । सुरूमा भाषण गर्न निम्त्याइयो दुलही मान्यतालाई । विप्लव माओवादीमै क्रियाशील रहेकी मान्यता भाषणमा अभ्यस्त नै देखिइन् । उनले ससुरा विप्लवलाई महासचिव कामरेड भनेर सम्बोधन गरिन् ।

‘हाम्रो गौरवशाली पार्टीका आदरणीय महासचिव कमरेड, पार्टीका प्रवक्ता कमरेड तथा हामीलाई शुभघडीमा शुभकामना दिन आउनुभएको समस्त कमरेडहरू, पत्रकार साथीहरू गाउँवासी दाजुभाइ दिदीबहिनीहरूमा मेरो क्रान्तिकारी लाल अभिवादन’ जोशिलो मुठ्ठी उज्याउँदै उनले भाषण सुरू गरिन् ।

उनको छोटो भाषणको सार यस्तो थियो
‘विवाह भन्ने कुरा हामी सबैको जीवनमा निकै मूल्य र मान्यता राख्ने विषय हुने भइहाल्यो । आज हामी आफ्नो ८ वर्ष लामो प्रेमलाई पूर्णता दिएर वैवाहिक वन्धनमा बाँधिदैछौं । महासचिव कमरेड, प्रवक्ता कमरेडलगायत सम्पूर्ण नेता कामरेडको उपस्थितिमा आठौं महाअधिवेशनले पारित गरेको ‘सी संस्कृति’ अनुरूप यसरी विवाहवन्धनमा बाँधिन पाउँदा म निकै गौरवान्वित र खुशी छु ।

नेपाली समाजमा विवाहसँग जोडिएका कुरिति कु-संस्कृतिलाई हामी तोड्न चाहन्छौं । दुलहीलाई दाइजो दिनुपर्ने, सुनचाँदी हिरामोतिले भरिदिएर विवाह गर्नुपर्ने जस्ता संस्कारहरू व्याप्त छन् हाम्रो समाजमा । ठूलोठूलो ऋणको भारी बोकाइन्छ । आज हामीले यही विवाहको माध्यमबाट त्यस्तो मान्यतालाई तोडेर हामी ‘सी जाति’ सामाजिक दायित्य पूरा गरेको अनुभूति मैले गर्दैछु । यसका लागि मेरो आफन्तजनलाई पनि धन्यवाद प्रकट गर्न चाहन्छु । उहाँले मेरो निर्णयमा कुनै बाधा-अड्चन ल्याउनुभएन । हाँसीहाँसी सहर्ष स्वीकार गर्नुभयो । त्यसैले पार्टीको निर्णअनुरूप विवाह गर्न सफल भएका छौं । एउटा चेली भएर यति शालिन, सभ्य र भव्य तरिकाले जनवादी विवाह गर्न पाउँदा भित्रैबाट गर्व महसुस भएको छ ।

हिजोजस्तै आज र भोलि सदैव ‘एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्ने’ हाम्रो पार्टीको नीतिमा बलिदानी भावनाका साथ लागि पर्ने प्रतिवद्धताका साथ आफ्नो दुई शब्द यहीँ टुंग्याउन चाहन्छु ।

उद्घोषकले मान्यतालाई ‘सारगर्भित’ मन्तव्यका लागि धन्यवाद दिएर आफ्ना दुई शब्द राख्न दुलाहा प्रकाश ‘सी’लाई निम्त्याए । प्रकाशले पनि विवाहका पुरातन मान्यता र संस्कृति भत्काउन चाहेको भाषण गरे । बिहेपछि आफूहरूले ‘प्रेम कोष’ स्थापना गर्ने घोषणा पनि उनले गरे ।

उनको भाषणको सार :
‘आदरणीय बुवा तथा महासचिव कामरेड, प्रवक्ता कमरेड, स्ट्यान्डिङ कमिटीका सदस्य कमरेड तथा सम्पूर्ण नेता कमरेडहरू, सबैलाई मेरो क्रान्तिकारी अभिभावदन । अहिले आधिुनिकताका नाममा विकृति भित्रिराखेको छ । नचाहिँदो खर्च गर्ने होड चलिराखेको छ । यसलाई दुईवटा आर्टिकल लेखेर वा अन्तर्वार्ता दिएर नहुने भयो ।

गरिबहरूको लागि विवाह बोझ भइराखेको छ भने शहरमा ऋण काढेर वा जग्गा बेचेर भए पनि आफ्नो स्टाटस देखाउनका निम्ति पनि यस्ता समारोहलाई खर्चिलो तरिकाले गर्ने प्रवृत्ति बढिराखेको छ । हाम्रो बिहे त्यसका विरुद्ध उभिएको आन्दोलन पनि हो । यो एउटा समारोहमात्र होइन, झापड पनि हो । हुँदो रहेछ नि त । दशौं लाखको हीराको हार नदिएर पनि त विवाह भव्य हुँदो रहेछ । खुशी हुँदोरहेछ र रमाइलो, सन्तुष्टि, गौरव हुँदो रहेछ । जंगलको बीचमा यो गर्मीमा एसीविना पनि हुँदो रहेछ ।

बुवा र मम्मीको परिवारलाई धेरै-धेरै धन्यवाद छ । हाम्रो गाउँको क्याटरिङले पनि यति मीठो माछा खुवाउने स्थितिमा पुगेछ नि त । यो गाउँका मेरै साथीहरू होलान् क्याटरिङ चलाउने । आज हामीले विवाह गर्यौं । यसको धेरै महत्व नदेखिएला । तर, हामी २५ हजारको प्रेम कोष पनि खडा गर्दैछौं । बच्चा जन्मिएपछि जीवन कोष खडा होला । त्यसले परिआउँदा काम लाग्छ । हामी समाजलाई सँगसँगै रूपान्तरण गर्ने अभियानमा छौं ।

दुवैले भाषण गरेपछि उद्घोषकले ‘सी जातिको संस्कृति अनुसार’ भन्दै विवाहको प्रमाणपत्र हस्तान्तरण गर्न आग्रह गरे । विप्लवले छोरा र बुहारी दुवैलाई प्रमाणपत्र दिए । आगन्तुकले उठेर ताली बजाए ।

त्यसपछि बोल्ने पालो आयो विप्लवको । उनले कुनै जनसभाम बोलेझैं लामो भाषण छाँटे । ४० मिनेटजति बोले ।

विप्लवले यसलाई ‘सी विवाह’ को संज्ञा दिए ।

‘हामीले विवाहमा बढिरहेको विकृतिलाई कसरी हल गर्ने भन्ने अन्तरगत सी विवाहको प्रथा सुरू गरेका छौं । यसलाई जनवादी विवाह वा प्रगतिशील विवाह भन्दा पनि हुन्छ,’ उनले भने ।

आफूले पैसा नभएर छोराको यस्तो विवाह नगरेको उनले प्रष्ट्याए ।

‘दुई चार-लाख ऋणै गरेर पनि, जग्गा बेचेर पनि ८/१० लाख रूपैयाँ खर्च गर्न सकिन्थ्यो । तर, लाखौं खर्च गरेर भोज ख्वाउँदा पनि उल्टै मान्छेहरूले गाली गर्दै हिँडेको देखेको छु । गेटबाट निस्केपछि कहाँबाट लुटेर ल्यायो अनि ख्वायो भन्न थाल्छन् । ख्वाउनु पनि छ, गाली पनि खानु पनि छ । न खुवाउनेलाई आनन्द छ नखानेलाई त्यसैले यो खालको नयाँ तरिका सोच्यौं । पैसा नभएर यस्तो गरेको होइन ।’

‘हामीले सरल बनाउन खोजेका हौं । तर, रमाइलोको कमी हुँदैन । मज्जाले नाचगान गर्नुपर्छ । जाँडरक्सीको चाहीँ व्यवस्था छैन । तर, खान मन लाग्नेलाई खानै प्रतिवन्ध भन्ने पनि छैन । खाली अनुशासनपूर्वक होस् भन्ने छ । ‘सी फेमिली’ मा त्यो चाहीँ राखेका छैनौं ।’

विवाहमा खानपानको व्यवस्था थियो । क्याटरिङ बोलाएर माछाको परिकार बनाउन लगाइएको थियो । विवाह सकिएपछि नाचगान भएको थियो । दुलाहा दुलहीसँगै विप्लव पनि नाचेर साथ दिए ।

विवाहअघि र पछि ‘पूँजीवादी’ समारोह
विप्लव र उनका छोराले भाषणमा जति क्रान्तिकारी कुरा गरे पनि ‘पूँजीवादी संस्कृति’ को प्रभावबाट मुक्त रहन सकेको भने देखिएन । ‘जनवादी बिहे’ भन्दा अगाडि उनीहरूले ईंगेजमेन्ट गरेका थिए, जसलाई गोप्य राख्न खोजिएको छ ।

चितवनको एउटा पार्टी प्यालेसमा झकिझकाउ सजावटसहित औँठी साटासाट भएको स्रोतले जानकारी दियो । ईंगेजमेन्टसँगै हल्दी समारोह पनि गरिएको थियो । विवादमा परिने डरले विप्लव भने ईंगेजमेन्टमा सहभागी भएनन् । दुलहीका मामाले यो समारोहको व्यवस्थापन गरेको बुझिएको छ । समारोहमा दुलहीपट्टिका परिवार तथा दुलाहा-दुलहीका साथीभाइहरू सरिक थिए ।

विवाहपछि रिसेप्सन पनि राखिएको छ । आमरूपमा विवाहपछिको रिसेप्सन दुलाहाको परिवारले आयोजना गर्छन् । तर, यहाँ दुलहीको आमाको नाममा निमन्त्रणा बाँडिएको छ । निमन्त्रणा कार्डमा उल्लेख भए अनुसार भरतपुरको केन्द्रीय बसपार्कमा रहेको सेरिन बुटिक होटलमा आज ४ बजेदेखि ८ बजेसम्म रिसेप्सन आयोजना गरिएको हो ।

प्रकाश र मान्यता दुवैले चितवन मेडिकल कलेजबाट एमबीबीएस पास गरेका हुन् । उनीहरू दुवैले काम भने थालेका छैनन् । उनीहरू पार्टीका तर्फबाट स्वास्थ्य शिविरहरू चलाउने गर्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖