• Tuesday 6th of October 2026

एमाले बागमतीमा मतदान आज, कुन समूहमा को-को छन् उम्मेदवार?


  • धनकुटा खबर
  • .

काठमाडौं, नेकपा (एमाले) बागमतीको जारी अधिवेशनअन्तर्गत मतदान आज हुँदै छ।एमाले बागमतीले असोज ९ गते नै नेतृत्व चयनको तयारी गरेको थियो। तर, सर्वसम्मतिको प्रयास लम्बिँदा निर्वाचन धकेलिएको हो।पछिल्लो संशोधित तालिकाअनुसार शुक्रबार बिहान ८ बजेबाट मतदान सुरू हुने छ।बागमती प्रदेशको आगामी नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिष्पर्धा हुँदै छ।

अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुंगेलले उम्मेदवारी दिएका थिए। त्यस्तै रामेछापका केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए।सानु श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुडाथोकीले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन्। पाण्डेले ढुंगेललाई र श्रेष्ठ र बुढाथोकीले दाहाललाई समर्थन गर्दै फिर्ता लिएको बताइएको छ।

बागमती प्रदेशमा चुनाव नै हुने भएपछि नेताहरू पनि बाँडिएका छन्। कैलाश ढुंगेललाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य आनन्द पोखरेललगायतको समर्थन छ।

त्यस्तै कृष्ण दाहालको पक्षमा पदाधिकारी तहका नेताहरू खुलिसकेका छैनन्। यद्यपि, सुरेन्द्र पाण्डेलगायत नेताहरूको समर्थन देखिएको छ। पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा खुलेरै लागेका छन्।एमालेमा प्यानल बनाउन निषेध भए पनि मत आफ्नो पक्षमा पार्न अध्यक्षमा प्रत्यासी दाहाल र ढुंगेलले भित्रभित्रै उपाध्यक्ष, सचिव र उपसचिवमा समर्थन गरेर भोट मागिरहेका छन्।

दाहालको तर्फबाट उपाध्यक्षमा नुवाकोटका नारायणप्रसाद खतिवडा, उसचिवमा ललितपुरका नवराज सिलवाल देखिएका छन्। यस समूहबाट दुई उपसचिवका लागि समर्थन तय भइसकेको छैन।ढुंगेलका तर्फबाट उपाध्यक्षमा दावादोर्जे लामा, सचिवमा हस्त पण्डितलाई समर्थन गरिएको छ।उपाध्यक्षमा लामा र खतिवडासँगै सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल, राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ।

सचिवको उम्मेदवारमा पण्डित सिलवालसँगै रत्न गुरुङ, रामकुमार अधिकारी रहेका छन्।त्यस्तै उपसचिव दुई पदका लागि १२ जनाको उम्मेदवारी परेको छ।
खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ, रीता गौतम ढकाल उपसचिवमा उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖