• Tuesday 6th of October 2026

खाद्य कम्पनी हुम्लाले कुहिएको चामल बिक्री गर्दै


  • धनकुटा खबर
  • .

हुम्ला। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ। केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो ।

नाम्खा–५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको बताए। एक घरधुरीलाई चार बोराका दरले बिक्री गरिएको थियो ।

उनले त्यसमा दुई बोरा चामल कुहिएको भेटिएको बताए। उनले आफ्नो मात्र नभई अधिकांश खाद्यान्न पाएका घरपरिवारको कुहिएको चामल डल्लैडल्ला परेको भेटिएको बताएका हुन्।

पच्चीस किलोको बोरा चामलको मूल्य रु दुई हजार तीन सय ७५ मा किनेको र घरमा चामलको बोरा खोल्दा कुहिएको पाइएको स्थानीय जंग लामाले बताए। “पैसा तिरिसकेका छौँ, चामल कुहिएर डल्ला परेको भेटिएको छ”, उनले भने।

करिब ५० घरधुरीका नागरिकले चामल बिक्री गरिएकामा अधिकांश बोरा कुहिएको भेटिएको स्थानीयको गुनासो छ। मुचुगाउँमा लिमिटेडले बिक्री गरेको चामल कुहिएर खान नमिल्ने भएपछि बोरा खोलेर घाममा सुकाउने गरिएको छ। घरको छतमा त्रिपालमा चामलको बोरा खोलेर सुकाउँदा पनि खान नमिल्ने खालको रहेको छ।

हिल्सा नाकामा चामल राख्ने गोदाम नहुँदा केही बोरा चौरमा पालले छोपेर राख्ने क्रममा पानी पर्दा भिजेका कारण कुहिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए। काठमाडौँ–केरुङ हुँदै तिब्बती मार्गबाट हिल्सा नाकाबाट चार हजार क्विन्टल खाद्यान्न ढुवानी भएको थियो। त्यसमा एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि छुट्याइएको थियो।

यस्तै तीन हजार क्विन्टल खाद्यान्न सिमकोट शाखामा आएको उनले बताए। उनले कुहिएको खाद्यान्न फिर्ता गरेर राम्रो चामल दिने व्यवस्था गरिने बताए। खाद्यान्न कुहिएको भए पैसा फिर्ता दिने पनि उनले बताए। सो कुहिएको खाद्यान्न भने राम्रोसँग राख्न उनले आग्रह गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖