काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरुद्ध अहिले चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको बताउनुभएको छ ।
शुक्रबार नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले ती सबै षडयन्त्र र घेराबन्दी तोडेर अघि बढेको बताउनुभयो । एमालेले सुरु गरेको समृद्धि र विकासको अभियानबाट आत्तिएकाले एमाले विरुद्ध अनेक षडयन्त्र गरेका ओलीको भनाइ छ ।
एमाले तीन वर्षमा गरेको विकासमा काम देखेर विश्व चकित परेको उहाँले बताउनुभयो । एमालेले बालबालिका युवा, महिला, ज्येष्ठ नागरिक सबै हितमा काम गरेको ओलीका भनाइ छ ।
एमालेबाट आत्तिएर सानातिना खुद्रा पसल बन्द भएपछि विरोधीहरू एमाले विरुद्ध एक भएको उहाँले टिप्पणी गर्नुभयो । प्राकृतिक र सांस्कृतिक हिसाबले निक्कै अघि भएर पनि कोशी प्रदेश विकासमा अघि बढ्न नसकेको बताउँदै ओलीले अब त्यो अभिभारा पूरा गर्ने बताउनुभयो । कोशी प्रदेशको विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको उहाँको भनाइ छ ।
कोशी प्रदेशमा पनि एमाले विरुद्ध अनेक घेराबन्दी गरिएको भए पनि त्यो सफल हुन नसकेको ओलीले बताउनुभयो । ‘अनेक घेराबन्दीका बिच कोशी प्रदेशमा एमाले अघि छ’, उहाँले भन्नुभयो ।
गठबन्धनका कारण देश बरबादी तर्फ उन्मुख भएको ओलीले बताउनुभयो । तथापि एमालेको सरकारमा जाने र सरकार बनाउने कुनै योजना रहेको उहाँले प्रष्ट पार्नुभयो । एमाले मिसन २०८४ मा लागेको बताउँदै ओलीले २०८४ मा एमाले बहुमतको सरकार बनाउने उहाँले दाबी गर्नुभयो ।
शेरबहादुर देउवा पाँच पटक र पुष्पकमल दाहाल प्रचण्ड तीन पटक प्रधानमन्त्री बन्दा पनि देशका लागि केही गर्न नसकेका उहाँले बताउनुभयो । उहाँहरू व्यक्तिगत स्वार्थमा नै रमाएको उहाँको भनाइ छ ।
एक भएको कम्युनिस्ट पार्टी फुटाउन माधव नेपाल र प्रचण्ड लागेको उहाँको भनाइ छ । तत्कालीन नेकपा अदालतले नभई माधव नेपाल र प्रचण्डले फुटाएको ओलीले दाबी गर्नुभयो ।
