• Tuesday 6th of October 2026

एमाले कर्णाली अधिवेशन: अध्यक्षमा पाँच जनाको उम्मेदवारी


  • धनकुटा खबर
  • .

नगेन्द्र उपाध्याय,सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि कालिकोटबाट तीन जनासहित पाँच जनाको उम्मेदवारी दर्ता भएको हो।

पोलिटब्यूरो सदस्य सल्यानका गुलावजंग शाह, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य कालिकोटका मिनबहादुर शाही, पूर्वमन्त्री कालिकोटका प्रेमबहादुर सिंह, कालिकोटकै प्रकाश रोकाय र कर्णाली प्रदेशसभाका पूर्व सभामुख दैलेखका राजबहादुर शाहीले अध्यक्षका लागि मनोनयन दर्ता गराएका हुन्।

निर्वाचन समितिका संयोजक मात्रिका खनालका अनुसार साढे चार बजेदेखि साढे सात बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको थियो। ‘अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ,’ उनले भने, ‘राति नौ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गछौं।’

यस्तै उपाध्यक्षमा मुगुका दानसिंह परियार र जुम्लाका टेकराज पछाईको उम्मेदवारी परेको छ भने सचिवमा दैलखेका रुद्र शाही, सुर्खेतका डण्डी शर्मा र ध्रुव शाहीको उम्मेदवारी परेको छ।

निर्वाचन समितिका अनुसार शनिबार विहान नौ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखिएको छ। दिउँसो साढे १२ बजेबाट मतदान हुनेछ। महाधिवेशनमा ६०४ जना प्रतिनिधिहरु सहभागी छन्। जारी अधिवेशनबाट एमालेले १३५ सदस्यीय प्रदेश कमिटी गठन गर्नेछ।

बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रथम प्रदेश अधिवेशनको उद्घाटन गरेका थिए। उनले प्यानल बनाएर निर्वाचनमा नजान कार्यक्रममा चेतावनी दिएका थिए। उनको चेतावनीका बाबजुत मुख्यतया मिनबहादुर शाही र गुलावजंग शाहबीच प्यानलै बनाएर प्रतिष्पर्धा हुने देखिएको छ।-नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖