• Tuesday 6th of October 2026

नेपालमा लगानी गर्न चिनियाँ निजी लगानीकर्ताहरूलाई आह्वान गरेको छु : प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौँ । चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि आह्वान गरेको बताएका छन् ।

शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री प्रचण्डले असोज ७ गते चीनको राजधानी बेइजिङमा नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्को संयुक्त आयोजनामा भएको नेपाल चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपालमा लगानीको उपयुक्त वातावरण रहेकोले नेपालका प्राथमिकताका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी लगानीकर्ताहरूलाई आह्वान गरेको जानकारी गराए ।

नेपालमा लगानीको प्रचुर सम्भावना रहेको र ती सम्भावनाहरूलाई मूर्त रूप दिन र लगानी संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी गराएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

उनले उक्त सम्मेलनमा चीन सरकारका प्रतिनिधिको सकारात्मक सन्देश र उद्योगी व्यापारीहरूको उत्साहजनक उपस्थिति रहेको जानकारी गराएका छन् ।

सोही साँझ नेपाली राजदूतावासमा नेपाली र नेपालका शुभेच्छुक चिनियाँहरूको समेत सहभागिता रहेको स्वागत समारोहमा नेपाल चीन सम्बन्धको वर्तमान अवस्था र सम्बन्ध सुदृढ गर्न सरकारले चालेका कदमका बारेमा जानकारी गराउँदै दुई देशबीच समझदारीको कार्यान्वयन लगायत सम्बन्ध विस्तारका समग्र पक्षमा सक्रिय रूपमा काम गर्न दूतावासलाई निर्देशन दिएको पनि जानकारी गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖