• Tuesday 6th of October 2026

कर्णालीमा एमाले अधिवेशन : ढिला गरी उम्मेदवारकाे अन्तिम नामावली प्रकाशित


  • धनकुटा खबर
  • .

सुर्खेत। बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारकाे अन्तिम नामावली साँझ बल्ल प्रकाशित भएकाे छ। दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहेपनि नामावली प्रकाशनमा ढिलाइ भएपछि अहिलेसम्म मतदान सुरु‌ हुन सकिरहेकाे थिएन ।

अन्तिम नामवली प्रकाशित भएसँगै अब मतदान प्रक्रिया अगाडि बढ्ने देखिएकाे छ। नामावली अनुसार अध्यक्षका लागि तीन जना, उपाध्यक्षका लागि तीन, सचिव दुई, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएकाे छ।

यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका थिए । कर्णाली प्रदेशसभा पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन् । अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

प्रदेशको नेतृत्व सहमतिमा टुङ्ग्याउने प्रयास गरेको एमालले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउने भएको हो । प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व छान्न निर्देशन दिएका थिए । तर नेताबीचमा कुरा नमिल्दा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपरेको नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोद शाहले जानकारी दिए ।

एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधीकारीसहित एक सय ३५ सदस्य चयन गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖