• Tuesday 6th of October 2026

एमाले कोशी प्रदेश : केन्द्रको निर्देशन विपरीत खतिवडा र ढाकालले बनाए प्यानल


  • धनकुटा खबर
  • .

१४ असोज, विराटनगर । नेकपा एमाले कोशी प्रदेशको नेतृत्वका लागि घनश्याम खतिवडा र विनोद ढकालले प्यानल बनाएका छन् ।

केन्द्रको निर्देशन विपरीत दुई समूहले छुट्टा छुट्टै प्यानल बनाएका हुन् । शुक्रबार पहिलो अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न निर्देशन दिएका थिए । उनले प्यानल नबनाउन पनि भनेका थिए । प्रदेश कमिटीले पनि प्यानल बनाउन नपाइने बताएको थियो । तर शनिबारदेखि नै प्यानलको चुनावी प्रचार भइरहेको छ ।खतिवडा पक्षले शनिबार बेलुकादेखि नै पदाधिकारीमा आफ्ना उम्मेदवार भन्दै पाँच जनाको नाम लिष्ट प्रतिनिधिलाई पठाएको थियो । ढकाल समूहले शनिबार रातिबाट टिम बनाएको हो ।

टिम बनाउँदा दुवै समूहले टीकाराम चेम्जोङलाई उपाध्यक्षको लिष्टमा राखेका थिए ।

खतिवडाको प्यानलबाट सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा देवान राई र जलवर्षा राजवंशी उम्मेदवार बनेका छन् ।

ढकाल पक्षबाट सचिवमा शैलेश लामा उम्मेदवार बनेका छन् । उपसचिवमा खेम नेपाली र भगिश्वर गुरुङ उम्मेदवार छन् गुरुङले उम्मेदवारी फिर्ता लिने तयारी गरेका छन् ।

२१५ सदस्यीय प्रदेश कमिटीमा सदस्यहरुको भने प्यानल बनिसकेको छैन् । नेताहरुका अनुसार मतदाअघिसम्म दुवै समूहले सदस्य सहितको प्यानल बनाउने तयारी गरेका छन् । निर्विरोध नभएको स्थानमा प्यानल बन्नेछ ।

एमालेको प्रदेश नेतृत्वका लागि आज दिउँसो १ बजेबाट मतदान गर्ने तयारी छ ।

१४ वर्षपछि दोस्रो प्रतिस्पर्धा
अध्यक्षमा उम्मेदवार बनेका ढकाल र खतिवडा १४ वर्षपछि दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि उनीहरुको प्रतिस्पर्धा एमालेको पाँचौं मोरङ जिल्ला अधिवेशनमा भएको थियो ।

२०६६ सालको प्रतिस्पर्धा केपी ओली पक्षबाट उठेका ढकालले माधवकुमार नेपाल पक्षका खतिवडालाई जिल्ला अध्यक्षमा पराजित गरेका थिए । १४ वर्षपछि प्रतिस्पर्धा गर्दै गरेका ढकाल र खतिवडा अहिले दुवै केपी ओली लाइनमा छन् । तर प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका अधिकांश केन्द्रीय नेतृत्व ढकालको विपक्षमा उभिएका छन्।

‘प्रदेशका ठूला नेता एउटा पक्षमा लागे पनि गोप्य मतदान हो, प्रतिनिधिले विवेक प्रयोग गर्छन्, जिल्लाबाट पनि मिश्रित रुपमा आएका छन्,’ मोरङका एक प्रतिनिधिले भने, ‘ढकाल कार्यकर्तासँग राम्रो सम्बन्ध भएका नेता हुन्, खतिवडा पुराना र निष्ठावान नेता हुन् ।’

पार्टीको आन्तरिक जीवनमा चुनाव सामान्य भए पनि नेताहरुको चलखेल अत्याधिक भएको ती प्रतिनिधिको निष्कर्ष छ ।

चेम्जोङ निर्विरोध
प्यानल उम्मेदवार भन्दै दुवै टोलीले प्रतिनिधिलाई बाँडेको लिष्टमा चेम्जोङको नाम समावेश छ । चेम्जोङ यसअघि अध्यक्षको दाबेदार थिए । ढकाल र खतिवडा प्रतिस्पर्धी देखिएपछि उनी ओझेलमा परे । पटक पटकको छलफलपछि वर्तमान उपाध्यक्ष रहेका उनी दोह्रो¥याउन राजी भए ।

सुरुमा उनलाई ढकालले उपाध्यक्ष उठ्नका लागि कन्भिन्स गरेका थिए । पछि खतिवडा पक्षले पनि चेम्जोङलाई समर्थन गर्‍यो । उपाध्यक्षमा उम्मेदवारी दिएन् ।

एक जनाको मात्रै उम्मेदवारी परेपछि चेम्जोङ निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित भएका उनी दुवै पक्षमा खुलेर लागेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖