• Tuesday 6th of October 2026

एमाले गण्डकीको अधिवेशन आज, नेतृत्वका लागि पिएस र खगराजबीच प्रतिष्ठाको लडाईं


  • धनकुटा खबर
  • .

काठमाडौं,१५ असोज । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ । सोमबार दिउँसो पोखरामा एक भव्य कार्यक्रमकाबीच अधिवेशनको पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने एमालेले जनाएको छ ।

पोखराको अमरसिंह चोकमा आयोजना हुने उद्घाटन कार्यक्रममा एमालेले शक्ति प्रदर्शन गर्दैछ। अधिवेशनका लागि छानिएका ११ जिल्लाका ९०७ प्रतिनिधि, केन्द्रीय र जिल्लास्तरका नेताहरूका साथै उद्घाटन सत्रमा प्रदेशका सबै जिल्लाबाट कार्यकर्ता पोखरा आइसकेको एमालेले जनाएको छ । अधिवेशनले अध्यक्ष, २ उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित १३५ सदस्यीय गण्डकी प्रदेश कमिटी चयन गर्नेछ।

नेतृत्वका लागि पिएस र खगराजबीच रस्साकस्सी

अधिवेशनबारेमा जानकारी दिन एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी सचिव एवं प्रदेशका ईन्चार्ज गोकर्ण विष्टले पार्टीमा आन्तरिक जनवादलाई कार्यान्वयनमा ल्याउने पहिलो पार्टी नेकपा एमाले भएको बताउँदै सहमतिबाट नेतृत्व छान्ने कुरा उच्चस्तरीय लोकतान्त्रिक अभ्यास भएको बताएका छन् । त्यसो नभए मत विभाजन प्रक्रियाबाट पनि नेतृत्व चयन गर्न सकिने उनको धारणा थियो ।

प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव विष्टले सहमतिको आधारमा प्रदेशको नेतृत्व चयन हुने दाबी गरिरहेको भएपनि प्रदेशको नेतृत्वका लागि निर्वाचन हुने लगभग निश्चित जस्तै रहेको एमालेका एक नेता बताउँछन् । एमाले गण्डकीमा लामो समयदेखि अध्यक्ष ओलीका निकट पात्रद्धय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी दुबैले एकले अर्काको अस्तित्व स्विकार नगर्ने अवस्थाका कारण यसपटक केपी ओली वा गोकर्ण विष्टले चाहेजस्तो गरी सर्वसम्मतिबाट नेतृत्व चयन नहुने अवस्था बनेको ती नेता बताउँछन् ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीद्धय गुरुङ र अधिकारी दुबै एमाले अध्यक्ष ओलीका विश्वास पात्र हुन् यद्यपि पार्टीमा उपमहासचिव रहेका गुरुङ उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने अधिकारी महासचिव शंकर पोखरेल निकट मानिन्छन् । अधिकारीलाई पार्टी सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज पद्या अर्यालको पनि साथ रहेको बताईन्छ ।

नेतृत्वका लागि प्यानल बनाउँदै अधिकारी र गुरुङ समूह

हाल गण्डकी प्रदेशको अध्यक्ष रहेका नवराज शर्मा पिएस निकट मानिन्छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पनि राम्रो सम्बन्ध बनाएका उनै शर्मालाई यसपटक पनि अध्यक्षको उम्मेदवार बनाउने पिएस पक्षको तयारी रहेको छ । भने, उनलाई रोक्नका लागि खगराज पक्षबाट मायानाथ अधिकारीलाई मैदानमा उतार्ने तयारी गरिरहेको छ ।

अधिकारी पार्टीका केन्द्रीय सदस्य हुन् । उनी पिएस गुरुङकै गृहजिल्ला लम्जुङका नेता हुन् । अध्यक्षमा दाबी गरिरहेका अधिकारी र शर्मा दुबैले अध्यक्ष ओलीसँग भेटघाट गरिसकेका छन् । यद्यपि ओलीले कुनैलाई पनि अहिलेसम्म अध्यक्ष बनाउने ग्रिन सिग्नल भने दिएका छैनन् । बरु ओली पक्षका केही नेता अधिकारी र शर्मा दुबैलाई रोकेर बाग्लुङ जिल्ला अध्यक्षसमेत रहेका हिराबहादुर केसीलाई अध्यक्ष बनाउन लागिपरेका छ्न ।

यसअघि अध्यक्षमा चर्चा गरिएका केन्द्रीय सदस्य कृष्ण थापा, राजीव पहारी, रामशरण बस्नेत भने मौन रहँदै मायानाथकै पक्षमा जाने तयारीमा छन्। सचिवमा पनि पृथ्वीसुब्बाको रोजाइमा गृहजिल्ला लमजुङका धनञ्जय दवाडी र खगराजपक्षीय रश्मि आचार्यबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै भएको छ। भने उपाध्यक्षका लागि गोरखा अध्यक्ष प्रेम गुरुङ र स्याङ्जाका पूर्वअध्यक्ष मीन गुरुङलाई मैदानमा उतार्ने तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖