• Tuesday 6th of October 2026

रास्वपाको टोलीलाई राष्ट्रपतिको प्रश्नः तपाईंहरु सोझै किन यहाँ आउनुभयो ?


  • धनकुटा खबर
  • .

काठमाडौं,१५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले पास गरेर पठाएको कुनैपनि विषय आफूलाई रोक्ने अधिकार नभएको बताएका छन् ।

गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका ६७० जनामध्ये व्यक्ति हत्याको आरोप पुष्टि भएर सजाय भोगिरहेका व्यक्तिसमेत परेपछि विरोध जनाउँदै ध्यानाकर्षणपत्र बुझाउन गएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको टोलीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले आफूले सरकारको सिफारिसलाई आफूले लागूमात्रै गरेको भन्दै त्यसको जस अपजस सरकारले नै लिने बताए ।

राष्ट्रपति पौडेलले रास्वपाका सांसदहरुले पक्रिया नबुझेर शीतल निवास आएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई किन जवाफदेही बनाउन सक्नुभएन र सोझै यहाँ आउनुभयो भन्दै प्रश्नसमेत गरेका छन् । ‘हाम्रो संविधान, हाम्रो गणतन्त्र र हाम्रो संसदीय व्यवस्था तपाईहरूले बुझ्नुभएको छैन भन्ने मलाई लाग्दैन’, राष्ट्रपति पौडेलले भने, ‘तपाईंहरू संसदमा हुनुहुन्छ, सरकार पनि संसदमा नै छ, त्यही तपाईंहरूले प्रधानमन्त्री, गृहमन्त्रीलाई किन जवाफदेही बनाउन सक्नुभएन र सोझै यहाँ आउनुभयो ? अलिकति यो संविधान र व्यवस्था अनुसार प्रक्रिया मिलेन कि जस्तो लाग्यो।’

संविधान दिवसका दिन माफी पाउनेमा तरुण दलका पूर्वनेता रिगल भनिने योगराज ढकालसमेत छन् । बाँकेकै चेतन मानन्धरको हत्या अभियोगमा २०७५ वैशाखमा अदालतबाट उनले जन्मकैदको सजाय पाएका थिए । ढकाललाई माफी दिएकोमा मानन्धरका परिवारले पनि सरकार र राष्ट्रपतिमाथि प्रश्न उठाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖