• Tuesday 6th of October 2026

अस्पतालबाट डिस्चार्ज भएपछि पुन: अनशनमा बसिन् भारती


  • धनकुटा खबर
  • .

काठमाडौ । सर्वोच्च अदालतमा तारिख लिएर फर्किने क्रममा ढलेकी भारती मानन्धर अस्पतालबाट डिस्चार्ज भएपछि पुन: अनशनमा बसेकी छन् ।

आफ्ना पति चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई आममाफी दिने निर्णय सर्वोच्चमा रिट निवेदन दिएकी भारती बुधबार रिट फाँटमा पुगेर तारिख लिएपछि फर्किने क्रममा सर्वोच्चको परिसरमा उनी बेहोस् भएर लडेकी थिइन् ।

सर्वोच्च परिसरमा ढलेपछि भारतीलाई वीर अस्पताल लगिएको थियो । उनी अस्पतालबाट साढे चार बजे डिस्चार्ज भएकी थिइन् । डिस्चार्ज भएपछि आज बिहानबाट उनी अनशनमा बसेकी हुन् ।

भारतीले बुधबार बिहानदेखि माइतीघर मण्डलामा अनशन सुरु गरेकी हुन् । न्याय नपाएसम्म घर नफर्किने अनशनरत भारतीको भनाइ छ ।

कैद मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती अनशन बसेकी हुन् । रिगललाई आममाफी दिएको भन्दै राष्ट्रपति पौडेलको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो ।

०७५ भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖