• Monday 5th of October 2026

विश्वकपमा आज : गौरवशाली इतिहास र नुर गिरेको वर्तमान बोकेका दुई टोलीबीचको भिडन्त


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकपको तेस्रो दिन शनिबार दुई फरक महादेशका राष्ट्र आपसमा भिड्दै छन् । एसियाली राष्ट्र श्रीलङ्का र अफ्रिकी राष्ट्र दक्षिण अफ्रिकाबीचको उक्त भिडन्त दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा हुनेछ ।

दिवा—रात्रि रूपमा खेलाइने उक्त खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । श्रीलङ्का र दक्षिण अफ्रिका र दुवै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट टेस्ट मान्यता पाएका राष्ट्र हुन् । आईसीसीको पछिल्लो एक दिवसीय वरीयतामा दक्षिण अफ्रिका चौथो र श्रीलङ्का सातौँ स्थानमा छन् ।

श्रीलङ्काले एक दिवसीय विश्वकपको पहिलो संस्करणदेखि नै निरन्तर सहभागिता जनाउँदै आएको छ । त्यसैले विश्वकपमा श्रीलङ्काको यो १३औँ सहभागिता हो । दक्षिण अफ्रिकाले भने सन् १९९२ मा पहिलो पटक विश्वकप खेलेको थियो । विश्वकपमा दक्षिण अफ्रिकाको यो नवौँ सहभागिता हो ।

एक दिवसीय विश्वकपमा उपलब्धिको कुरा गर्दा दक्षिण अफ्रिकाभन्दा श्रीलङ्का निकै अगाडि देखिन्छ । श्रीलङ्काले एक पटक विश्वकपको उपाधिसमेत चुमिसकेको छ । सन् १९९६ मा श्रीलङ्काले फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै उपाधि जितेको थियो ।

यसदेखि बाहेक पनि श्रीलङ्का थप दुई पटक एक दिवसीय विश्वकपको फाइनलमा पुगिसकेको छ । सन् २००७ को विश्वकपको फाइनलमा अस्ट्रेलियाले श्रीलङ्कालाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ५३ रनले हराएको थियो । त्यसलगत्तै सन् २०११ को विश्वकपको फाइनलमा भारतले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको थियो ।

यसका विपरीत दक्षिण अफ्रिकाले हालसम्म एक पटक पनि एक दिवसीय विश्वकपको उपाधि चुम्न सकेको छैन । उपाधि त टाढाको कुरा, दक्षिण अफ्रिका हालसम्म एक दिवसीय विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन ।

यसको अर्थ अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिका कमजोर टोली भने पटक्कै होइन । इतिहासको कुनै कालखण्डमा विश्व क्रिकेटमा तहल्का मच्चाउने राष्ट्र हुन्, श्रीलङ्का र दक्षिण अफ्रिका । अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुवै राष्ट्रको ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्ष उत्कृष्ट थियो ।

कुनै समय अर्जुना रणतुङ्गा, अरविन्दा डा सिल्भा, रोशन महानामा, सनथ जयसूर्या, हसन तिलकरत्ने, मुथैया मुरलीधरन, रोमेश कालुविथर्ना, चामिण्डा भासजस्ता प्रभावशाली खेलाडीले विश्व क्रिकेटमा श्रीलङ्काली टोलीको फरक पहिचान स्थापित गराएका थिए ।

यसैगरी ज्याक्स कालिस, एन्ड्रयू हडसन, गेरी क्रिस्टेन, हेन्सी क्रोनिए, जोन्टी रोड्स, ड्यारल कलिनन, सान पोलक, एलन डोनाल्ड, हर्सेल गिब्स, मार्क बाउचर, लान्स क्रुजनर, निकी बोएजस्ता चर्चित खेलाडीले विश्व क्रिकेटमा दक्षिण अफ्रिकाको शान बढाएका थिए ।

तर, पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्का र दक्षिण अफ्रिका दुवैको लय खस्किएको छ । यी दुवै टोलीले खासै गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । त्यसैले विश्वकपको १३औँ संस्करणमा अधिकांश समर्थकले यी दुवै टोलीलाई उपाधिको दाबेदार मानेका छैनन् ।

भनिन्छ, ‘क्रिकेट अनिश्चितताको खेल हो ।’ यो विश्वकपमा उपाधिको होडमा केही पछि देखिए पनि यी दुवै टोलीले जुनसुकै बेला पनि नतिजालाई उलटफेर गर्न सक्ने क्षमता राख्छन् । यी दुवै टोली जारी विश्वकपमा बलिया मानिएका राष्ट्रहरूलाई कुनै पनि बेला धुला चटाउने हैसियत राख्छन् ।

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा हालसम्म श्रीलङ्का र दक्षिण अफ्रिकाले आपसमा ८० वटा खेल खेलेका छन् । एक दिवसीय खेलको तथ्याङ्कमा भने श्रीलङ्काभन्दा दक्षिण अफ्रिका निकै बलियो देखिन्छ । आपसमा खेलिएका ८० मध्ये ४५ खेलमा दक्षिण अफ्रिका र ३३ खेलमा श्रीलङ्का विजयी भएका छन् ।

एक दिवसीय क्रिकेटमा यी दुई राष्ट्रबीचको एक भिडन्त बराबरीमा सकिएको छ भने एक खेल अनिर्णीत रूपमा टुङ्गिएको छ । आफ्नो घरेलु मैदानमा खेलिएको २५ खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । श्रीलङ्काले भने घरेलु मैदानमा खेलिएको १८ वटा खेलमा दक्षिण अफ्रिकालाई हराएको छ ।

श्रीलङ्काको मैदानमा दक्षिण अफ्रिकाले आठ वटा खेल जितेको छ भने दक्षिण अफ्रिकाको घरेलु मैदानमा श्रीलङ्काले सातवटा खेलमा सफलता हात पारेको छ । यसका अतिरिक्त ‘न्यूट्रल भेन्यू’ मा दक्षिण अफ्रिकाले १२ र श्रीलङ्काले आठ खेल जितेका छन् ।

एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा पछिल्लो पटक दक्षिण अफ्रिका र श्रीलङ्का सन् २०२१ को सेप्टेम्बर ७ मा आपसमा भिडेका थिए । त्यो खेलमा श्रीलङ्का ७८ रनले विजयी भएको थियो । त्यतिबेला तीन खेलको शृङ्खला नै श्रीलङ्काले २—१ ले जितेको थियो ।

१३औँ विश्वकपअघि खेलिएको अभ्यास खेलमा पनि यी दुवै टोलीको प्रदर्शन गतिलो रहेन । श्रीलङ्काली टोली भारतमा खेलिएको दुवै अभ्यास खेलमा पराजित भएको थियो । आफ्नो पहिलो अभ्यास खेलमा श्रीलङ्काली टोली बङ्गलादेशसँग सात विकेटले पराजित भएको थियो ।

यसैगरी दोस्रो अभ्यास खेलमा पनि श्रीलङ्काली टोली अफगानिस्तानसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ६ विकेटले पराजित भएको थियो । दक्षिण अफ्रिका र अफगानिस्तानबीचको पहिलो अभ्यास खेल वर्षाका कारण रद्द भएको थियो । दोस्रो अभ्यास खेलमा भने दक्षिण अफ्रिकी टोली न्युजिल्यान्डसँग पराजित भएको थियो ।

विश्वकपका लागि घोषित दक्षिण अफ्रिकी टोलीमा टेम्बा बाभुमा (कप्तान), जेराल्ड कोएट्जी, क्विन्टन डी कक, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, सिसान्डा मागाला, केशव महाराज, एडन मारक्रम, डेभिड मिल्लर, लुङ्गी एनगिडी, एनरिच नोर्टेज, कासिगो राबाडा, टाबरिज सामसी र रासी भान डेर डुसान रहेका छन् ।

यसैगरी श्रीलङ्काली टोलीमा दसुन सानका (कप्तान), कुसल मेन्डिस (विकेटकिपर तथा उपकप्तान), पाथुम निसानका, कुशल जनिथ, दिमुथ करुणारत्ना, चरिथ असालंका, धनन्जया डा सिल्भा, सदिरा सामराबिक्रमा, दुनिथ वेल्लालागे, कसुन रजिथा, मथिसा पाथिराना, लाहिरु कुमारा, वानिन्दु हसारंगा, महिस थिकसना र दिल्सान मधुसानका रहेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖