काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले जनयुद्ध गर्नु गल्ती र हिंसा थियो भनेर एकथरीले भड्काउने प्रयास गरिरहेको बताए।
उनले परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्ने बताए। उनले अराजकतालाई प्रश्रय दिने अभिव्यक्ति नदिन आग्रह गरे।
उनले राम्रा काम हुँदाहुँदै पनि समाजमा नराम्रा मात्रै देख्ने परिपाटी रहेको भन्दै यस्तो समस्या समाधान गर्न जरुरी रहेको बताए। उनले नेतृत्व भनेको जनताले र इतिहासले आन्दोलन र संघर्षको बीचबाट जन्माउने कुरा भएको पनि बताए।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण भइरहेको छ। त्यसमाथि प्रहार भइरहेको छ। जनयुद्ध गर्नु गल्ती थियो, हिंसा थियो, त्यो अपराध थियो, एउटा एंगल तपाईहरुले सुनिरहनुभएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु गलत थियो, त्यसलाई उल्ट्याउनुपर्छ भन्ने अर्को कोण तपाई हामीले देखिरहेका छौँ। सुनिराखेका छौँ।’
