• Wednesday 7th of October 2026

सुदूरपश्चिममा एमाले प्रदेश अधिवेशनको तयारी पुरा, अध्यक्षमा तीन जनाको दाबी कायमै


  • धनकुटा खबर
  • .

कैलाली । भोलीदेखि धनगढीमा आयोजना हुने सुदूर पश्चिम प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । आज प्रदेश कमिटी तथा अधिवेशन मूल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।

प्रदेश अधिवेशनमा ६७५ जना प्रतिनिधिले सहभागिता जनाउने छन् । प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिँदै प्रदेश अध्यक्ष दामोदर भण्डारीले सबै प्रतिनिधि धनगढी पुगिसकेको बताए । सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको समेत उनले बताए ।

अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली उद्घाटन गर्नेछन् ।ओली भोली बिहान ८ बजेको बुद्ध एयरको जहाजमार्फत धनगढी आउने छन् ।

पार्टीका महासचिव शङ्कर पोखरेल, पार्टीका सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरूको सहभागिता रहने प्रदेश कमिटीले जनाएको छ ।

केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टीको प्रदेश नेतृत्व आपसी समझदारीका आधारमा चुन्ने प्रयास गरिने बताए ।

एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नेताहरू कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले दाबी गरेका छन् । उनीहरूबीच अहिले सम्म सहमति भने जुट्न सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖