• Tuesday 6th of October 2026

घर बन्द र खाली भएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट नगर्न प्रहरीको आग्रह


  • धनकुटा खबर
  • .

नेपाल प्रहरीले दशँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आज (आइतबार) देखि विशेष सुरक्षा योजना लागू गरेको छ । विषेश सुरक्षा योजनाअन्तर्गत देशभर कुल ५० हजार पाँच ३० जना प्रहरीहरु खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित सबै प्रहरी युनिटले आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँ तिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिएको छ ।

दशैँ तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरिएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए । घर बन्द गरेर तस्बिर खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।

चाडपर्वमा आपराधिक क्रियाकलाप बढी हुने भएकाले त्यसतर्फ सबैले चनाखो भएर लाग्न तथा आफ्ना घर, छिमेकमा त्यहाँ गतिविधि भएमा वा हुने सङ्केत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा वा निःशुल्क नम्बर १०० मा खबर गर्न समेत प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले आग्रह गरे ।

प्रहरी प्रधान कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि देशैभरका प्रहरी युनिटहरुमा लागू गर्न सर्कुलर जारी गरेको छ । दशै तिहार विशेष सुरक्षा योजना लागू भएसँगै सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरी चौबिसै घण्टा खटिइने प्रवक्ता कडायतले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖