• Wednesday 7th of October 2026

दशैंको मुखमा नेपाली गुमाउनुको पीडाले हामी सबै शोकमा छौं,धैर्य गरौं: केपी ओली


  • धनकुटा खबर
  • .

काठमाडौं,२२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत शनिबार इजरायलमा -प्यालेस्टाइनी बिद्रोही समूह हमासले गरेको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले आज सामाजिक सञ्जालमार्फत उक्त घटनाले आफूलाई दुखी तुल्याएको उल्लेख गरेका छन् । उनले दशैंको मुखैमा १० जना नेपाली विद्यार्थीको उक्र आक्रमणमा परेर ज्यान गएपछि देशनै शोकमा डुबेको बताएका छन् ।

‘निर्दोष नागरिक, बृद्धबृद्धा र बालबालिकाको हत्या र अपहरण जस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान गर्दैन बरु थप बढाउन मद्दत गर्छ भन्ने हाम्रो पार्टीको ठम्याइ छ’, ओलीले भनेका छन्, ‘नेकपा (एमाले) घटनामा परी निधन हुनेहरूप्रति श्रद्धाञ्जलीका साथै समस्त आफन्तजनप्रति समवेदना व्यक्त गर्दछ ।’ साथै एमालेले घटनामा परी घाइते भएकाहरूको तत्काल उपचार, अप्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितता गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो’। ओलीले भनेका छन् । ‘दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ। हामी सबै शोकमा छौं । घाइतेको तत्काल उद्दार गर्न, बन्धक बनाइएकाहरुको रिहाइ र मृतकको शब ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्। ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली ! परिवारजनमा समवेदना’!

इजरायलमा शनिबार बिहानबाट जारी रहेको हमास समूहको आक्रमणमा परेर हालसम्म १० जना नेपालीसहित सयौं नागरिकको मृत्यु भएको विदेशी सञ्चार माध्ययमले जनाएका छन् । सरकारले उक्त आक्रमणमा परेर निधन भएका नेपालीको शव नेपाल ल्याउन र आवश्यक अन्य कामका लागि आवश्यक तयारी गर्न परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा समन्व संयन्त्र गठन गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖