• Wednesday 7th of October 2026

रघुजी पन्त युट्युबरको फन्दामा परेपछि


  • धनकुटा खबर
  • .

काठमाडौं । आफूले बोलेको कुरालाई काँटछाँट गरेर विवादित बनाइएको भन्दै नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य रघुजी पन्तले त्यस्ता सामग्री बनाउनेमाथि कारबाहीको माग गरेका छन् ।

पन्तले इजरायलमा नेपाली विद्यार्थीको मृत्यु हुनुभन्दा अघि बेग्लै सन्दर्भमा बोलेको सैद्धान्तिक विषयलाई अहिले आएर केही युट्युब र सामाजिक सञ्जालमा आफू अनुकूल काटेर अनर्थ लगाई भाइरल बनाइएको भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।

बेग्लै सन्दर्भमा बोलेका कुरालाई काँट‌छाँट गरी गलत अर्थ लाग्ने गरी भिडिओ बनाएर प्रचार गर्नु आपत्तिजनक भएको उल्लेख गर्दै नेता पन्तले टिकटक, युट्युब आदीमा भाइरल बनाइएका ती सामग्री तत्काल हटाउन माग पनि गरेका छन्।

पन्तले भनेका छन्– इजरायलमा नेपाली विद्यार्थीहरू हमासको आक्रमण‌मा परी मारिएको समाचार आउनुभन्दा अघि बोलेका कतिपय बोलीलाई काँट‌‌छाँट गरी गलत अर्थ लाग्ने भिडिओ बनाएर टीकटक, युट्‌युब आदिमा राखी केही व्यक्तिले जनमानसमा भ्रम उत्पन्न गराएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, बेग्लै प्रश्नको उत्तर दिँदा बोलेका कुराहरूलाई काँट‌छाँट गरी गलत अर्थ लाग्ने गरी भिडिओ बनाएर प्रचार गर्नु आपत्तिजनक कार्य भएकोले यस्ता भिडिओहरू तत्काल हटाउन माग गर्दछु। यस्तो काम गलत भएकोले यस्ता भिडिओ बना‌एर प्रचार गर्ने कार्य रोक्न सम्बन्धित क्षेत्रले आवश्यक पाइला चालोस् भनी ध्यानाकर्षण गर्दछु।

पन्तले एक नेपालीले अर्को नेपालीको दुःखमा सहभागी भएर पीडामा मलहम लगाउनुपर्ने बेलामा व्यक्तिका भनाइलाई बङ्ग्याएर प्रस्तुत गरी भ्युज बढाउन खोज्ने अमानवीय कार्य भएको भन्दै तत्काल ती भिडिओ क्लिप हटाउन माग गरेका छन् ।

पछिल्लो समय प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा युट्युबरहरुको भीडले केही चर्चामा आइरहने सांसदहरूलाई घेरा हालेर भाइरल कन्टेन्ट बन्ने खालका प्रश्नहरू गर्ने लहर नै चलेको छ ।

संसद् सचिवालयले विभिन्न मिडियाको नाममा सूचना विभागबाट जारी भएका प्रेस पासका आधारमा अनलाइन टिभी भनेर पत्रकार प्रवेश पास दिने र त्यस आधारमा संसद् भवन बाहिर जम्मा भएर उनीहरूले ‘बिकाऊ भिडिओ सामग्री’ बनाउने क्रममा तोसिमा कार्कीलगायत केही सांसद पनि यसअघि विवादमा परिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖