• Wednesday 7th of October 2026

ब्रेन म्यापिङले देखायो गैरीगाउँ हत्याकाण्डका अभियुक्तको दिमाग सामान्यभन्दा तीक्ष्ण


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको गैह्रिगाउँमा ४ जनाको सामूहिक हत्या गरेको आरोप लागेका युवकको मानसिक अवस्था नबिग्रिएको पाइएको छ ।

जन्मजात बोल्न नसक्ने २३ वर्षीय सञ्जय भण्डारीले पक्राउ पछि शृंखलाबद्ध हत्या गरेको बताएपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गरेको थियो। अपराध अनुसन्धानमा ब्रेन म्यापिङको प्रयोग भएको पहिलो पटक हो ।

केन्द्रीय कारागारमा रहेको अस्पतालमा भण्डारीको ब्रेन म्यापिङ गरिएको हो। उक्त अस्पतालका प्रमुख प्रकाश बुढाथोकीले ब्रेन म्यापिङमा कस्ता खालका विचारहरू पैदा हुन्छन् भनेर नसाबाट हेरिने बताए ।

उनले अस्पतालमा ब्रेन म्यापिङ औपचारिक रुपमा सुरु हुन बाँकी रहेको बताए। झुटो बोल्ने र आपराधिक मनोवृत्तिहरु ब्रेन म्यापिङबाट थाहा पाउन सकिने उनको भनाई छ।

‘मेसिन आइसकेको छ। अब एक सातापछि सुरु हुन्छ’, डाक्टर बुढाथोकीले भने । उनले भण्डारीको परीक्षण रिपोर्टबारे आफूले बुझ्न बाँकी रहेको बताए।

पक्राउ परेका भण्डारीले काठमाडौंको अन्य स्थानमा पनि आफूले हत्या गरेको तर प्रहरीले थाहै नपाएको र पत्ता लगाउन पनि नसकेको भनेर दोभासेमार्फत बयान दिएपछि प्रहरी चकित भएको थियो। प्रहरीले हत्या गरेको भनिएका कतिपय स्थानमा उनलाई लिएर पनि पुगेको थियो।

‘उनका कुराहरू पत्याउनै नसकिने खालका पनि देखिएपछि मानसिक अवस्थाबारे बुझ्न पनि यो नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने अवस्था बनेको हो। परीक्षणका क्रममा उनको मानसिक अवस्था नबिग्रिएको र सामान्यभन्दा तीक्ष्ण दिमागको भएको भन्ने पाइएको छ’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्।

उनले भनेका हत्याका अन्य घटनाबारे भने प्रहरीले अझै केही यकिन गर्न सकेको छैन। प्रहरीले काठमाडौंमा पछिल्लो २र३ वर्षयता हराएका तर नभेटिएका व्यक्तिहरूको सूची तयार गरेर पनि अनुसन्धान गरिरहेको छ। सञ्जयले हत्या गरेको भनिएका व्यक्तिको पहिचान नभएकाले प्रहरीलाई उनको दाबी यकिन गर्न हम्मेहम्मे परेको छ।

नेपाल प्रहरीले यसअघि अपराध अनुसन्धानमा पोलिग्राफलाई प्रयोग गरेको थियो। पोलिग्राफले सम्बन्धित व्यक्तिले बोलेको कुरा झुटो हो की साँचो हो भनेर हेर्ने गरिन्छ।

तर पोलिग्राफको रिपोर्ट मात्रलाई प्रमाण मान्न नसकिने अदालती फैसलाहरू छन्। भारतमा आरोपीले सही कुरा बयान दियोस् भनेर नार्को टेस्ट पनि गर्ने गरिएको छ। नेपालमा भने नार्को टेस्टलाई अपराध अनुसन्धानमा प्रयोग गरिएको छैन।

भदौको अन्तिम साता गैह्रिगाउँस्थित एक काठ मिलमा ४ जनाको सामूहिक हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। प्रहरीले सिसिटिभी फुटेजका आधारमा सञ्जयलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖