काठमाडौं । डेंगु संक्रमित भारतीय क्रिकेट टीमका ओपनिङ ब्याट्सम्यान शुवमन गिल शरीरमा प्लेटलेटको मात्रा घटेपछि एक रात अस्पतालमा बिताएर डिस्चार्ज भएका छन् । तर, उनले आफ्नै देशमा जारी विश्वकप क्रिकेट गुमाउने खतरा बढेको छ ।
भारतले खेलेको पहिलो म्याचमा अष्ट्रेलियाविरुद्ध गिल अनुपस्थित थिए । भोलि हुने अफगानिस्तानविरुद्धको म्याच पनि उनले खेल्न नसक्ने भारतीय क्रिकेट बोर्डले बताएको छ । बोर्डले सोमबार बिहान पहिलोपटक गिलको अवस्थाबारे अपडेट दिँदै उनी टिमसँग दिल्ली नगएको जानकारी गराएको थियो । दिल्लीमा बुधबार भारतले अफगानिस्तानसँग खेल्दैछ ।
हिजै उनी चेन्नइको कावेरी अस्पतालमा भर्ना भएका थिए । प्लेटलेटको मात्रामा उच्च गिरावट आएपछि अस्पताल भर्ना गरिएको हो । उनको प्लेटलेट ६० हजारभन्दा तल झरेको थियो । जबकि सामान्य व्यक्तिको चार–पाँच लाख हुन्छ । एक लाखभन्दा कम हुनु चिन्ताजनक मानिन्छ । अवस्थामा केही सुधार भएर उनी डिस्चार्ज भएको भारतीय स्ञ्चारमाध्यमले जनाएका छन् । तर, उनले पाकिस्तानविरुद्ध १४ अक्टोबरको म्याच खेल्न सक्ने सम्भावना न्यून रहेको जनाइएको छ ।
डेंगु संक्रमणको असर लामो समयसम्म शरीरमा रहन्छ । टेस्ट नेगेटिभ आए पनि धेरै दिनसम्म शरीर कमजोर हुने भएकाले गिलले सिंगै विश्वकप गुमाउन सक्ने समाचारहरुमा जनाइएको छ । चिकित्सकहरुले उनलाई जहाजमा यात्रा नगर्न सुझाव दिएका छन् । भारतीय मिडियाका अनुसार क्रिकेट बोर्डले उनको प्रतिस्थापन घोषणा गर्ने तयारीमा जुटेको छ ।
गिल अहिले चेन्नइमा छन् । उनलाई बीसीसीआइका फिजिसियन डा. रिजवान खानले फलोअप गरिरहेका छन् । उनी भारतीय टिमसँगै विश्वकपको पहिलो खेलका लागि चेन्नई पुगेका थिए । तर, अचानक अस्वस्थ भएर उनले अष्ट्रेलियाविरुद्धको म्याच गुमाए । अब चमत्कारिक सुधार भयो भने मात्रै उनले पाकिस्ताविरुद्धको म्याच खेल्न सक्छन् ।
गिलको अनुपस्थितिमा अष्ट्रेलियाविरुद्ध इसान किसनले भारतका लागि कप्तान रोहित शर्मासँग ओपनिङ गरेका थिए । उनी शून्यमै आउट भए । तर, केही समयदेखि उनी राम्रो लयमा छन् । त्यसैले पाकिस्तानविरुद्ध पनि उनले ओपनिङ गर्न सक्ने सम्भावना छ ।
